२ जेष्ठ २०८१, बुधबार

मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपः हिमालयनलाई हराउँदै मनाङ फाइनलमा




धनगढी / मनाङ मस्र्याङ्दी क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा मनाङले बाजी मार्यो । पेनाल्टीमा मनाङका अन्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे । हिमालयनका उल्रिच सिवे र पिस्टन मुटाम्बाले गोल गरे । विशाल श्रेष्ठ र विवेक पण्डित पेनाल्टीमा गोल गर्न चुके ।

पेनाल्टी अघि खेलको २८ औं मिनेटमा शिशिर लेखिले हेडर मार्फत गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

अब उपाधिका लागि मनाङले फागुन २८ गते बागमती युथ क्लब युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाईनल खेल विहीबार हुनेछ ।

खेलपछि प्रतिक्रिया दिदैं मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक राजेन्द्र तामांगले सेमिफाईनल जितेसँगै अब उपाधि जित्ने दावी गरे । ‘गेम एकदमै राम्रो भयो । खेलाडीहरुले अनुभव देखाए ।

पहिलो हाफमा केही गोल मिस भयो । केही गल्तीले गोल खान पुग्यौ । तर पनि खेल जित्यौ ।’ प्रशिक्षक तामांगले भने–‘अव हामी उपाधि जित्छौ । खेलाडीहरुले मैदान पनि चिनिसके । अर्को फाईनलिष्ट टीम पनि बलियो नै हुनेछ । यसपाली हामी उपाधि लिएर नै जाने हो ।’
हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगलकिशोर राईले सोचेभन्दा राम्रो खेलेको र पेनाल्टीमा भाग्यले साथ नदिएको बताए । ‘आजको खेल रोमाञ्चक रह्यो । हामीले कमब्याक गर्यौ । सोचेभन्दा राम्रो खेल्यौ । सुरुमा अमित श्रेष्ठ र लाष्ट आवरमा गोलकिपर किशोर गिरी घाईते हुँदा गाहे भयो ।

’ प्रशिक्षक राईले भने–‘प्रतिस्पर्धात्मक खेललाई पेनाल्टीसम्म पुर्यायौ । पेनाल्टीमा फिप्टी फिप्टीको कुरा आउँछ । त्यसमा उनीहरु सफल भए । मनांगलाई फाईटिंग गेम खेलायौ । हाम्रा खेलाडीहरुले गेम स्प्रीट देखाए ।’

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १०० र अन्यका लागि १५० राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार