७ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपः हिमालयन शेर्पा अन्तिम चारमा (फोटो फिचर सहित)




धनगढी / सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पा सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा सोमबार भएको खेलमा आयोजक तथा साविक विजेता सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे । यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे । खेलको ३४ औं मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए । ५५ औं मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन २–० ले अघि रह्यो । त्यसपछि खेलको ६७ औं मिनेटमा विवेकले आत्मघाती गोल गरेपनि हिमालयन २–१ ले विजयी भयो ।

प्रतियोगिता अन्तगत मंगलबारको खेलमा लिग विजेता मछिन्द्र क्लब र वागमती युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ । अब हिमालयन सेमिफाईनलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्ने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका सचिव तथा प्रवक्ता ओमविक्रम चन्दले जानकारी दिए ।

खेलपछि प्रतिक्रिया दिदैं हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगलकिशोर राईले सुदुरपश्चिम ११ ले सोचेभन्दा निकै अब्बलको प्रदर्शन गरे पनि स्कोर गर्न सकेका कारण खेल जितेको बताए ।

‘लोकल, जुनियर प्लेयरहरु भाईहरुले जुन तरिकाले खेले त्यो अब्बलको प्रदर्शन रह्यो । हामीलाई मास अट्याक गरे । टोटल फुटबल देख्न पाईयो । हामीले पनि स्कोर क्वालिटी देखायौ । गोल गरेर खेल जितेपनि यो जित सुप ११ लाई समर्पित गर्न चाहन्छु ।’
प्रशिक्षक राईले भने–‘पहिलो हाफमा उनीहरुले निकै समस्यामा पारे । क्वीक अट्याकले हामी डोमिनेट भयौ । दोस्रो हाफमा हामीले क्रियटिभ भएर खेल जिते । केही खेलाडीले खेल्न नपाउँदा पनि केही समस्या त भयो । अब सेमिफाईनलमा टीम अझ बलियो हुन्छ । जित्ने गरी खेल्छौ ।’

खेलपछि प्रतिक्रिया दिदै सुदुरपश्चिम–११ स्पोर्टस क्लबका प्रशिक्षक गजेन्द्र शाहीले अधिकांश समय बल आफ्नो कब्जामा राख्दा राख्दै पनि गोल गर्न नसक्दा खेल गुमाएको बताए ।

‘खेल एकदम कम्पिटिसन भयो । बल पोजिसन धेरै राख्दा राख्दै पनि केही कुराका कारण हार्न पुग्यौ । फिनिसिंगमा तालमेल नमिल्दा गोल हुन सकेन । हामीले ईजी खेलेर उनीहरुको रणनिति ब्रेक गर्न खोज्यौं । अट्याकिंग खेल्दा पनि दुई तीन स्कोर हुन सकेन ।’ प्रशिक्षक शाहीले भने–‘घरेलु दर्शकको पनि राम्रो साथ थियो । तर उहाँहरुलाई खुशी बनाउन सकेनौं । हामी फेरि पनि घरेलु दर्शकहरुलाई खुसी बनाउने प्रयास गर्नेछौ ।’

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १०० र अन्यका लागि १५० राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार