१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल शुरु





धनगढी / मोफसलको सर्वाधिक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिता बिहीबारदेखि धनगढीमा शुरु भएको छ ।

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवको आयोजनामा आगामी २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिहीबार एक विशेष समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह, कैलाली अस्पतालका सञ्चालक जनकराज जोशी लगायतको उपस्थिति रहेको थियो ।

धनगढी रंगशालामा भइरहेको प्रतियोगिताको उद्घाटन खेल मनाङ मस्र्यांग्दी क्लव र भारतको दिल्ली फुटवल क्लवबीच भएको छ ।

आयोजक क्लवका अध्यक्ष सुरेश हमालका अनुसार प्रतियोगितामा सुदूरपश्चिम–११, मनाङ मस्र्यांग्दी क्लव, दिल्ली फुटवल क्लव, हिमालयन सेर्पा क्लव, एनजेजेवाईसी फुटबल क्लव, क्यामरुनको एभेनिर फुटबल क्लव, फ्रेन्ड्स क्लव, बागमती युथ क्लव, न्यूरोड टिम र मछिन्द्र फुटवल क्लव सहभागी रहेका छन् ।

प्रतियोगिताको विजेताले २१ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले १० लाख नगद पुरस्कार पाउने छ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने छन् ।

उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार