१७ बैशाख २०८१, सोमबार

देशकै ठूलो राशीको मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने




धनगढी / धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरेर १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः एक लाख, ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने पत्रकार सम्मेलन गरी जनाईएको छ ।

‘सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को गठन भए पश्चात सुदुरपश्चिमको खेलकुद क्षेत्रको विकास गर्नका लागि विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।’ सदस्य सचिव सिंहले भने– ‘सुदुरपश्चिम प्रदेश सरकारले थालनी गरेको मुख्यमन्त्री कप अन्तर्गत आगामी चैत ७ गतेदेखि १२ गतेसम्म धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजनाको तयारी सुरु गरेका हौं ।’

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई मेडल सहित नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिष्टर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार सहित पुरस्कृत गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगद पुरस्कार दिईनेछ ।

सुदुरपश्चिम प्रदेशको टीमलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिईने काम पनि अहिले भईरहेको सदस्य सचिव सिंहले बताए । प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न समिति र उपसमितिहरु गठन गरे काम अगाडी बढिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार