१७ बैशाख २०८१, सोमबार

सोमबारदेखि एलपीएल क्रिकेट




धनगढी /
कैलालीको धनगढीमा सोमबारदेखि धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरु हुदैछ ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कैलाली, कञ्चनपुर र काठमाडौंका १० वटा विद्यालयका टिम सहभागी भएका छन् ।

प्रदेश प्रहरी कार्यालयको क्रिकेटल मैदानमा आयोजना हुने प्रतियोगिताको आइतबार ट्रफी सार्वजनिक गरियो । सो अवसरमा आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

ट्रफी सार्वजनिकरण कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले धनगढीलाई क्रिकेटको शहरको रुपमा परिचित गराउन एलपीएलले थप टेवा पुराउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहेको छ । प्रतियोगिता आगामी १४ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजक संस्थाका अनुसार प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार र उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीलाई जनही हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै, प्लेयर अफ द म्याचका गेम चेन्जर अवार्ड र सर्वोत्कृष्ट छक्का अवार्ड समेत थप गरिएको आयोजकले जनाएको छ ।
बालविवाह न्यूनिकरणका लागि हस्ताक्षर
यसैबीच, आयोजक संस्थाले एलपीएल–६ क्रिकेट प्रतियोगितासंगै बालविवाह न्यूनिकरणका लागि हस्ताक्षर अभियान पनि सञ्चालन गरेको छ ।

नेपाली जुटौं, बालविवाह रोकौं भन्ने नाराका साथ आयोजक संस्थाले बालविवाह न्युनिकरणका लागि ब्यानरमा प्रतिवद्धतासहित हस्ताक्षर अभियान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार