११ पुष २०८१, बिहीबार

मुख्यमन्त्री पाँचौ अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप फागुन तेस्रो सातादेखि




धनगढी / मोफसलको सर्वाधिक धनराशि पुरस्कार रहेको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता धनगढीमा आगामी फागुन तेस्रो सातादेखि शुरु हुने भएको छ ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा फागुन १९ देखि २८ सम्म प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

२०७३ सालदेखि शुरु गरिएको गोल्डकपको यो पाँचौं संस्करण हो । यस वर्ष सो प्रतियोगिताको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ । सोही कारण पाँचौ संस्करणलाई मुख्यमन्त्री पाँचौ अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप–२०७८ दिइएको छ ।

प्रयोजक र सह–प्रयोजकसहित विभिन्न उद्योग, व्यवसायीहरूको सहयोगबाट चार संस्करण पुरा गरेको सो प्रतियोगितामा यस वर्ष प्रदेश सरकारकै सहयोग रहेका कारण केही राहत भएको क्लबका अध्यक्ष सुरेश हमालले बताए ।

नेपाल आइस मुख्य प्रयोजक बनाइ हामीले पहिलो र दोस्रो संस्करण सफल बनायौं । तेस्रो र चौथोमा पनि उद्योगी व्यवसायीकै सहयोगले सफल भयो अध्यक्ष हमालले भने –‘कोरोना महामारीका कारण जारी निषेधाज्ञाले हामीले एक वर्ष प्रतियोगितालाई अघि बढाउन सकेनौं ।

यस वर्ष प्रदेश सरकारले प्रतियोगिता सफल बनाउन सहयोग गरेको छ । यस्तै धनगढी उपमहानगरपालिकाले पनि सहयोग गर्ने आश्वासन दिइसकेको छ ।

युवाहरूलाई फुटबल खेलप्रति उत्प्रेरित गराउने, युवाहरूलाई दुव्र्यसनीबाट जोगाउने, यहाँका अभिभावकहरूलाई खेलतिर उत्साहित गर्ने, फुटबल खेललाई व्यवसायिक बनाउन मद्दत गर्ने र यस क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय  खेलाडी उत्पादन गर्ने उद्देश्यसहित सो प्रतियोगिता गरिन लागेको आयोजकले जनाएको छ ।

क्लबका महासचिव प्रकाश शाहीले सो प्रतियोगितामा १० टिमको सहभागिता रहने बताए ।

नेपालका पाँच ए डिभिजन क्लब, मोफसलका दुई, विदेशी २ र आयोजक गरि जम्मा १० टिमको सहभागित रहने छ उनले भने प्रतियोगिताका विजेतालाई २१ लाख र उपविजेतालाई १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने छ ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइगर, मिड–फिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र कोचलाई नगद २० हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दि म्यच खेलाडीलाई १० हजार रकमको पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा एक करोड ५० लाख रुपैया भन्दा बढी लगानी हुने अनुमान गरिएको छ । सो प्रतियोगिता एन्फा तथा फिफाको नियमानुसार खेलाईने छ ।

प्रतियोगितामा अन्दाजी पाँच हजार भन्दा बढी फरक फरक मानिसहरूले अवलोकन गर्ने छन् भने ५० लाख रुपैयाँभन्दा बढी मानिसहरूले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार