११ जेष्ठ २०७९, बुधबार

निःशुल्क आखा शिविर : तीन हजार बढीलाई सेवा प्रदान



धनगढी / सुदूरपश्चिम प्रदेशको अछाम र बाजुरा जिल्लामा संचालित आँखा शिविरमा तीन हजार बढीलाई सेवा प्रदान गरिएको छ ।

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल, स्वास्थ्य कार्यालय अछाम र बुढीगंगा नगरपालिकाको आयोजना र नेपाल सरकार तथा तेज कोहली रुईत फाउण्डेशनको सहयोगमा पौष १८ गते देखि माघ १ गते सम्म अछाम जिल्लाको तीन स्थान र बाजुरा जिल्लाको एक स्थानमा सञ्चालित शिविरमा जम्मा तीन हजार दुई जनाले आँखा उपचार सेवा लिएका हुन ।

जसमध्ये ६५५ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएकोमा ६४१ जना मोतिविन्दुका विमारीहरूको निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण द्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ ।

सो शिविरहरूमा चार जना आँखाको अन्य रोगको शल्यक्रिया गरिनुको साथै २६० जनालाई बिशेष छूटमा चश्मा उपलब्ध गराइएको तथा दुई हजार ८७ जना आँखाका रोगीहरूको निःशुल्क औषधि उपचार समेत गरिएको थियो ।

आँखा शिविरहरू बयालपाटा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार, शोडषादेवी माध्यामिक विद्यालय मंगलसैन अछाम र टाँटे स्वास्थ्य चौकी बाजुरामा संचालन गरिएको अस्पतालका बाह्य कार्यक्रम व्यस्थापक रमेश भट्टले जानकारी दिए ।

शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरूले पुनः दृष्टि पाउँदा हर्षित देखिएको उनले बताए ।

उनका अनुसार शिविरमा केही बिरामीहरूले स्वास्थ्य बीमामा बिमित भएको भए ता पनि गेटा आँखा अस्पतालमा बिमितहरूको लागि आँखाको अप्रेशन निःशुल्क हुन्छ भन्ने जानकारी नभएको कारणले सेवा लिन नसकेका पनि भेटिएका थिए ।

गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डाक्टर अनील गुरुडको नेतृत्वमा संचालित सो शिविरहरूमा १४ जना प्राविधिकहरूको टोलीले सेवा प्रदान गरेका थिए ।

उक्त शिविरहरू संचालनमा नेपाल नेत्र ज्योति संघ अछाम, बयालपाटा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार, स्वास्थ्य कार्यालय अछाम, स्वास्थ्य चौकी टाँटे, बुढीगंगा नगरपालिका र शोडषादेवी माध्यामिक विद्यालय अछामका पदाधिकारी, कर्मचारी र विद्यार्थीहरूले महत्वपूर्ण योगदान पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार