१४ बैशाख २०८१, शुक्रबार

राप्रपा अध्यक्ष लिङ्गदेलको आरोप– शासक बन्न विदेशी शक्तिको आशिर्वाद थाप्ने मानसिकता




धनगढी / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेलले विदेशी शक्ति, तत्वहरुको आशिर्वाद पाएपछि मात्रै यो मुलुकको शासक बन्न पाइन्छ भन्ने मानसिकता भएका नेताहरुका कारण राष्ट्रियता र राष्ट्रिय अखण्डतामाथि सधैं खतरा र चुनौति रहिरहने आरोप लगाएका छन् ।

उनले नेपालको अस्तित्व, राष्ट्रियता र अखण्डता अक्षुण्ण राख्न हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र अनिवार्य भएको पनि दाबी गरे ।

बिहीबार धनगढीमा आयोजित सभामा अध्यक्ष लिङ्गदेलले उनले मुलुकको राष्ट्रियता र सार्वभौमिकतामाथि चारैतिरबाट आक्रमण भइरहेको चर्चा गरे । भने– ४६ वर्षअघिसम्म हाम्रो छिमेकमा सिक्कीम भन्ने देश थियो ।

अहिले पनि सिक्कीमको माटो र भूगोल जहाँको तहीँ छ । नाम पनि सिक्कीम नै छ, तर सिक्कीम भन्ने देश छैन । त्यहाँ राजतन्त्रको अन्त्य भयो, अनि लोकतन्त्र, गणतन्त्रको नाममा त्यहाँका शासकहरुले विदेशी शक्तिहरुको उक्साहटमा आफ्ना जनताले थाहै नपाईकन देशलाई भारतमा विलय गराइदिए ।

उनले राप्रपाले हिन्दू धर्म, संस्कृति, मौलिकताको नारा दिएका कारण प्रतिगामी नबन्ने बताए । उनले भने– म लिम्बुको छोरा, मेरो धर्म किरात हो । म किन हिन्दू राष्ट्र हुनुपर्छ भन्छु । किनकि हिन्दू राष्ट्र नेपालीको गौरव र सम्मान तथा पहिचानको विषय हो । हामी सबै नेपाली र विभिन्न जातजाति, धर्मावलम्बी, क्षेत्रलाई एकसुत्रमा जोड्ने हो ।

उनले सरकार नागरिकप्रतिको दायित्वबाट बिमुख भएको आरोप लगाए । “दार्चुलाका जयसिंह धामी महाकालीमा बगेको कति दिन भयो ? मेरो नागरिक तिम्रो (भारत) सुरक्षाकर्मीको लापरवाही र ज्यादतीका कारण महाकालीमा बग्यो, त्यो सुरक्षाकर्मीलाई कारबाही गरे भनेर हाम्रो सरकार भन्न सक्दैन” उनले भने– हाम्रो सरकार कहाँ छ ?

उनले वितेका ३०/३२ वर्षको अवधिमा गरिबीको चपेटामा परेका, द्वन्द्वबाट आक्रान्त विश्वका कैयौं मुलुकहरुले प्रगतिको नयाँ नयाँ उचाई प्राप्त गरिसकेको चर्चा गर्दै प्रश्न गरे– तर हामी नेपाली र नेपाल झन् झन् गरिब र कमजोर बन्दै गएका छौं । केही पार्टी र नेताहरुका लागि राजनीति पेसा जस्तो बनेको छ । यस्तो किन भइरहेको छ ?

उनले वितेका ३०÷३२ वर्षमा सरकारहरुले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाए । भने– यो अवधिमा हाम्रा सरकारहरुले पाँच/ छ हजार नेपालीले रोजगारी पाउने कुनै उद्योग स्थापना गरेको पाउनु भयो ?

छाडा गाईवस्तुको त व्यवस्थापन गर्न सकेका छैनन्, देशका युवाहरुलाई रोजगारी दिने विषय त यिनिहरुको डायरी मै छैन । हजारौं नेपालीहरु भोकै मर्नुभन्दा बरु कोरोनाले मरौला भनेर रोजगारीका लागि दिनहु भारततिर गइरहेको देखेर पनि शासकहरुका आँखा रसाउँदैनन् । यस्ता शासकलाई हामीले ३१ वर्षदेखि शासनसत्ता दिएका छौं, यो हाम्रो दुर्भाग्य हो ।

उनले पछिल्ला चार वर्षमा नेपालको राष्ट्रिय ऋण आठ अर्बबाट १६ अर्बमा पुगेको बताए । भने– त्यसमध्ये दुई खर्ब शासक, राज्यका पदाधिकारी र कर्मचारी, सत्तारुढ दल पार्टीहरु नेता र कार्यकर्ताहरुको सुखसुविधामा खर्च भएको छ । प्रत्येक नेपालीको टाउकोमा ६० हजार रुपैयाँको ऋणभार थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार