२ जेष्ठ २०८१, बुधबार

पीएम कप महिला क्रिकेट : एपीएफ बन्यो च्याम्पियन



धनगढी / सटिक र घातक बलिङ तथा उत्कृट ब्याटिङलाई जारी राख्न सफल भएपछि धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधी सशस्त्र प्रहरी बल (एपीएफ) ले उचालेको छ ।

आइतबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा एपीएफले उपाधीको दावेदार मानिएको प्रदेश १ लाई सात विकेटले पराजित गर्दै ट्रफी उचाल्यो । विजयसंगै एपीएफले पाँच लाख रुपैयाँ पुरस्कार समेत जितेको छ ।

उपविजेता प्रदेश १ ले तीन लाख रुपैयाँ पुरस्कार पाएको छ ।

लीग चरणका सबै तीन खेल जीतेर समुह बीको अंकतालिकामा शिर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको एपीएफ लुम्बिनी प्रदेशलाई हराएर फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, समुह ए का सबै तीन खेल जीतेर अंकतालिकामा शिर्ष स्थानमा रहेको प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई सेमिफाइनलमा हराएर फाइनलमा पुगेको थियो ।

आइतबार फाप्ला क्रिकेट मैदानमा ठूलो संख्यामा रहेका दर्शकमाझ एपीएफले टस जीत्यो । बिहानको ओसिलो मौसम र भिजेको पीचलाई दृष्टिगत गर्दै एपीएफले पहिलो फिल्डिङ गर्ने निर्णय गर्यो । एपीएफका बलरहरुले त्यो निर्णय सार्थक बनाउँदै शुरुदेखि नै सटिक तथा घातक बलिङले प्रदेश १ का ब्याट्सवुमनहरुलाई खुलेर खेल्न दिएनन् ।

एपीएफको सटिक बलिङ र उत्कृष्ट फिल्डिङको दबावमा रहेको प्रदेश १ का ब्याट्सवुमनहरुको शु्रुदेखि नै रन बनाउने गति निकै सुस्त रह्यो । रनस्कोर चार हुँदा प्रारम्भिक ब्याट्सवुमन काजल श्रेष्ठ व्यक्तिगत चार रनमा आउट भइन् । अर्का प्रारम्भिक ब्याट्सवुमन रुविना क्षेत्रीले ३४ रनको पारी खेले पनि त्यसका लागि उनले ४६ रन खर्च गरिन् ।

लीग चरणका खेलमा निकै चम्किएकी तेस्रो नम्बरकी अप्सरीले निर्णायक खेलमा भने आफ्नो ब्याटिङ कला देखाउन सकिनन् । उनले व्यक्रिगत ११ रन बनाउन ३४ बलको सामना गरिन् ।


निकै सुस्त गतिमा रन बनाउने क्रममा प्रदेश १ प्रतिओभर ३.३५ को दरले २० ओभरमा छ विकेट गुमाएर ६७ रनको कमजोर स्कोरमा सिमित भयो ।

प्रदेश १ का ब्याट्सवुमनहरुमाथि अंकुश लगाउने क्रममा एपीएफका सीता रानामगरले चार ओभरमा १२ रन दिएर तीन विकेट लिइन् । त्यस्तै, रेखा रावलले चार ओभरमा ११ रन खर्चेर दुई तथा करुणा भण्डारीले चार ओभरमा एक मेडन सहित १३ रन दिएर एक विकेट लिइन् ।
प्रतिओभर ३.३६ रनको विजय चुनौति एपीएफले १५ ओभरमा जम्मा तीन विकेट क्षतीमा पूरा गर्यो ।

एपीएफको शुरुवात भने राम्रो हुनसकेन । उसले ७ रनस्कोरमा दुई विकेट गुमाइसकेको थियो । तर, प्रारम्भिक व्याट्सवुमन ज्योति पाण्डे (अविजित ३६ रन, ३९ बल, छ चौका) र पाँचो नम्बरका ममता चौधरी (अविजित १९ रन, २३ बल, दुई चौका) ले टीमलाई ३४ बल बाँकी छँदै विजय दिलाए ।

एपीएफका तीन वटै विकेट प्रदेश १ का रुविना क्षेत्रीले लिएकी थिइन् । खेलको प्लेयर अफ द म्याच एपीएफका सीता रानामगर बनिन् ।
प्रतियोगिताको वुमन अफ द सिरिज प्रदेश १ का कप्तान रुविना क्षेत्री बन्दै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट खेलेका रुविनाले एक अर्धशतक (७६ रन) सहित १५७ बनाएकी थिइन् । प्रतियोगिताभरी १९ चौका हिर्काएकी उनले आठ विकेट पनि लिएकी थिइन् ।

प्रतियोगितामा प्रदेश १ कै अप्सरी बेगम उत्कृष्ट ब्याट्सवुमन बनिन् । उनी प्रतियोगिताको सबैभन्दा बढी रन बनाउने खेलाडी बनिन् । उनले दुई अर्धशतक सहित १७६ रन बनाएक थिइन् ।

त्यस्तै, उत्कृष्ट बलरको उपाधी पनि प्रदेश १ का आलिशा खाडियाले प्राप्त गरिन् । प्रतियोगिताको पााच खेलमा उनले नौ विकेट लिएकी थिइन ।
नेपाल क्रिकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सहआयोजनामा सञ्चालन भएको प्रतियोगितामा आठ टिमले भाग लिएका थिए ।

समुह ए मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमति प्रदेश र कर्णाली प्रदेश रहेका थिए भने समुह बी मा एपीएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश २ र गण्डकी प्रदेश रहेका थिए । प्रतियोगिता गत ३ गतेदेखि सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार