७ बैशाख २०८१, शुक्रबार

पर्यटन साइकल यात्रा शुरु




धनगढी /
सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा टेवा पुराउने उद्देश्यले शनिबारदेखि पर्यटन साइकल यात्रा, २०७८ सुरु भएको छ ।

साइकल यात्राको धनगढीमा आयोजित एक विशेष कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले साइकल चलाएर आरम्भ गरे ।
सो अवसरमा मुख्यमन्त्री भट्टले कोरोना महामारीका कारण थला परेको प्रदेशको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनले पर्यटन विकासका लागि सरकारले पूर्वाधार निर्माण, खप्तड लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकहरुका लागि आवास गृह निर्माण लगायतका कार्यक्रम अघि बढाइएको बताए ।

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा फारवेष्टर्न राइडरको सहकार्यमा सुरु भएको साइकल यात्र भोली सोमबार डोटीको बुडरमा समापन हुने जनाइएको छ ।

पर्यटन साइकल यात्रामा भारतको उत्तरप्रदेश, उत्तराखण्ड र बिहार राज्यबाट आएका आठ जना तथा नेपालको काठमाडौं, ललितपुर, पोखरा, बिराटनगर, भैरहवा, बाँके, दाङ, कैलाली, नवलपरासी र कञ्चनपुरका गरी एक सय बढी साइकल यात्रीहरुले भाग लिएको फारवेष्टर्न राइडर क्लवका अध्यक्ष भरतबिक्रम शाहले बताए ।

धनगढीदेखि सुरु भएको साइकल यात्रा गोदावरी, खानीडाँडा, सहजपुरहुँदै डोटीको बुडरमा पुगेर समापन हुने छ । साइकल यात्राको अन्तिम दिन सोमबार डोटीको बुडरमा साइकल रेस प्रतियोगिता पनि आयोजना गरिने छ ।

साइकल रेस प्रतियोगिताका लागि धनगढीस्थित निसर्ग हस्पिटलले प्रायोजन गरेको छ ।

साइकल रेस डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्म पाँच किलोमिटरको दुरीमा आयोजना गरिने छ । साइकल रेसका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तृतीयलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

साइकल यात्रीहरुलाई विभिन्न गाउँमा विभिन्न समुदायका सांस्कृतिक कार्यक्रमबाट स्वागत गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन विकास कार्यक्रम ईकाइका निमित्त प्रमुख भोजराज पाठकले बताए ।

यात्रा आरम्भ कार्यक्रममा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव देवेश मणी त्रिपाठीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार