७ बैशाख २०८१, शुक्रबार

प्रथम प्रदेश भलिबल : कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीको जित




धनगढी / कैलालीको धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगितामा आज शुक्रबार दोस्रो दिन लिग चरणका पाँचवटा खेल भएका छन् ।

दोस्रो दिन कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीले जित हासिल गरेका छन् । आज भएको पहिलो खेलमा बझाङ कञ्चनपुरसँग पराजित भयो । कञ्चनपुरले बझाङमाथि ३–१ को सेटमा जित दर्ता गरेको हो ।

दोस्रो खेलमा डडेल्धुराले कैलालीलाई ३–१ को सेटमा हराउँदा तेस्रो खेलमा डोटीले अछाममाथि ३–२ को सेटमा जित दर्ता गर्यो । डोटी र अछामबिचको खेलमा अन्तिम सेट डोटीले वाक ओभर पाएको हो ।

दार्चुला र बाजुराबिच आजै भएको चौथो खेलमा ३–१ को सेटमा दार्चुला विजयी भएको थियो । अन्तिम खेलमा बझाङबाट चौथो सेट वाक ओभर पाएको बैतडी ३–१ ले विजयी भयो ।

प्रतियोगिता अन्तरगत शुक्रबार पहिलो खेल डोटी र कञ्चनपुरबिच बिहान ७ बजे हुने छ । शुक्रबार लिग चरणका ७ वटा खेल हुने छन् ।

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार असोज २३ गतेसम्म धनगढीमा सञ्चालन हुने छ ।

प्रदेशका ९ वटा जिल्लाका टिमहरूले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५÷२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ ।

सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए । ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार