१३ बैशाख २०८१, बिहीबार

जुवाडे भगाउने प्रकरण : ठूलालाई चैन साना प्रहरी निलम्बन




धनगढी /
साउन १८ गते दिउँसो धनगढी उपमहानगरपालिका -३ बडहरा स्थित एएफसी रेस्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा पाएर जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को संयुक्त टोली सिभिल पोशाकमा छापा मार्न गएको थियो ।

प्रहरी नायव निरीक्षक केशवराज जोशी पनि छापा मार्ने क्रममा गएका थिए । प्रहरी देख्ने बित्तिकै भागेका जुवाडेलाई प्रहरीले फिर्ता ल्याएर उनीहरुसँग भएको सवै पैसा असुलेर भगाएको सहभागीले नै बताउदै आएका छन् । प्रहरीले भाग्न दिएकाले उनीहरु आफ्ना मोटरसाईकल समेत लगेर गएका थिए ।

पछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक दानवहादुर रोकायको नेतृत्वमा गएको प्रहरी टोलीले ८५ हजार मात्र नगद रकम बरामद गरेको मुचुल्का बनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयले पठाएर आफू मुचुल्का बनाउन घटनास्थलमा गएको उनले बताएका थिए । जुवाडेसँग भएको पाँच लाख भन्दा बढी रकम प्रहरीले लिएको आरोप प्रहरीलाई लागिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले जुवाको खालमा छापा मारेर ठूलो परिमाणमा रकम लिएर सवै जुवाडे भगाएको घटना गुपचुप राखेको थियो । एक लाख भन्दा बढी नगद बोकिराख्ने ठूला जुवाडेहरु रहेकाले उनीहरुसँग ठूलो रकम थियो ।

आफूसँग भएको पैसा लगि आफूलाई छोडिदिन जुवाडेहरुले गरेको आग्रह मानेर एक जना पनि पक्राउ नगरेर ८५ हजार मात्र भेट्टाएको र जुवाडे भागेको मुचुक्ला बनाएर प्रहरी टोली फर्केको थियो ।

ठूलो जुवाको खालमा छापा मारी प्रहरीले पैसाको प्रलोभनमा परेर सवै जुवाडे भगाएको घटनाको समाचार दुई दिन पछि राष्ट्रिय र स्थानीय सञ्चार माध्याममा प्रकाशित भएको थियो । समाचार प्रकाशित भइसकेपछि पनि कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट र जिल्ला प्रहरी प्रमुखले प्रहरीले पैसा असुलेर जुवाडे भगाएको समाचार गलत भन्दै समाचारको खण्डन गर्न सक्दो प्रयास गरेका थिए ।

प्रहरी नायव उपरिक्षक बिष्टले जुवा भइरहेको सूचना पाएपछि प्रहरी पठाएको र प्रहरीले जुवाडेलाई भगाएर रकम लिएको भन्ने कुरा सत्य नभएको बताएका थिए ।

संचार माध्यममा घटना प्रकाशित भएपछि स्थानीयको व्यापक बिरोध र प्रहरी केन्द्रीय विभागको चासोका कारणपछि होटल सञ्चालक सहित पाँच जना जुवाडेलाई प्रहरी पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गर्दै र सिसी क्यामेराको दृष्य देखाउदै प्रहरीले छापा मारेर जुवाडेलाई नभगाएको र पैसा नलिएको प्रष्टीकरण समेत दिएका थिए । अन्य पाँच जना जुवाडे अझै पक्राउ परेका छैनन् ।

छानबिन समितिले गरेको छानबिनको प्रहरीले छापा मारेर जुवाडे भगाएको घटनामा प्रहरीको कमजोरी रहेको निष्कर्ष छ । प्रहरीले पैसाको प्रलोभनमा परेर जुवाडे भगाएको घटनामा छानविन समितिले कमजोरी भएको निष्कर्ष निकालेपछि सूचना पाएर प्रहरी टोलीलाई घटनास्थलमा पठाउने, मुचुल्का बनाउन प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली पठाउने, घटनाको ढाकछोप र बचाउ गर्ने प्रहरी अधिकारीलाई पनि कारवाही हुनुपर्ने एक प्रहरीले बताए ।

‘सधै तल्लो स्तरका प्रहरीलाई मात्र मोहडा बनाइनु हुँदैन’, उनले भने,‘फिल्डमा खटिनेको मात्र दोष हुने निर्देशन दिनेको दोष नहुने कसरी हुन्छ ? छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छैन । छानविन समितिका संयोजक वरिष्ठ प्रहरी उपरीक्षक पाण्डेयले तल्लो स्तरका पाँच जना प्रहरी निलम्वन गरिएपनि यसमा संलग्न प्रहरी अधिकारीलाई पनि कारवाहीका लागि प्रतिवेदनमा सिफारिस गरिएको बताए । तर कुन कुन प्रहरी अधिकारीको संलग्नता रहेको भनेर उनले खुलाएनन् ।

छानविन समितिकै एक अधिकारीले घटनामा एसपी, डिएसपी, ईन्सेपेक्टरहरुको जे भूमिका देखिएको छ । त्यो भूमिका प्रतिवेदनमा स्पष्ट उल्लेख गरेर बुझाएको र प्रदेश प्रहरी कार्यालयले त्यही अनुसार कारवाही गर्ने बताए ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता चन्दले छानबिन समितिको प्रतिवेदनको सुझावका आधारमा थप अनुसन्धान हुने र संलग्न कुनै प्रहरी अधिकारी पनि नजोगिने बताएका छन् ‘थप अनुसन्धान गर्नुपर्ने देखिएको छ, हामी सवैमाथि अनुसन्धान गरिरहेका छौ र संलग्नता देखिएका कोही पनि जोगिदैन।’

सञ्चार माध्यममार्फत घटना सार्वजनिक भएपछि प्रहरी केन्द्रीय विभागको निर्देशनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले वरिष्ठ प्रहरी उपरीक्षक पाण्डेय संयोजक, प्रहरी उपरीक्षक दिलिपसिंह देउवा र प्रहरी निरीक्षक हिक्मत वोहरा सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।

छानविन समितिको सिफारिसमा निलम्वन पर्नेमा आरआईटीका प्रहरी हवल्दार नैनाचन्द्र धामी, प्रहरी जवान एकिन्द्र खड्का, प्रहरी जवान प्रेमसिंह धामी र जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान कृष्णप्रसाद जैशी, रामसिंह कुंवर रहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार