१५ चैत्र २०८०, बिहीबार

सम्पादकीय : कामबिहीन प्रदेश सभा ?



प्रदेश सरकारले पर्याप्त बिजनेस नदिएका कारण सुदूरपश्चिम प्रदेश सभाको यस पटकको हिउदे अधिवेशन कामबिहीन झैं बनेको छ । विगतमा पनि प्रदेश सरकारले प्रदेश सभालाई राम्ररी बिजनेस दिन उदासिनता देखाउने गरेको प्रदेश सांसदहरुले पटक पटक गुनासो गर्दै आएका थिए । प्रदेश सभाको हिउदे (सातौ) अधिवेशनको पाँचौ बैठकसम्म एक अध्यादेश र एक ऐन मात्र पारित भएको छ भने संसदीय समितिमा चार वटा वटा विधेयक दफाबार छलफलमा रहेका छन् । प्रदेश सभा प्रदेशका जनताको आवाज, चाहना र आकांक्षा व्यक्त हुने सर्वोच्च थलो हो । प्रदेशका नागरिकले आफ्ना जनप्रतिनिधिहरुमार्फत आफ्ना भावना र आवश्यकताको सम्बोधन भएको हेर्न चाहन्छन् । प्रदेश सरकार बनेको तीन वर्ष पुरा भइसकेको छ । तर, अहिलेसम्म यस प्रदेशका जनताले प्रदेश सरकारबाट उत्साहजनक काम भएको महसुस गर्न नपाएको विश्लेषण फगत आरोप मात्रै होइन । नितान्त नौलो संरचना र अभ्यास भएका कारण प्रदेश शासन, प्रदेश सरकार, प्रदेश सभा सञ्चालनमा थुपै्र चुनौति अझैं पनि छन् । व्यवस्थापकीय अनुभव र क्षमताको कमी छ । पर्याप्त कर्मचारीको अभाव छ । संघ र प्रदेश सरकारबीच बलियो समन्वय र सहकार्यको अभावबारे पटकपटक चर्चा हुने गरेका छन् । तर, यी सबै कारण देखाएर कतिन्जेलसम्म आफ्ना कमी कमजोरी ढाकछोप गर्ने ? प्रदेश सरकार तथा प्रदेश सभाले आम नागरिकलाई चित्तबुझ्दो जवाफ दिएको हुनुपर्दछ ।

प्रदेश सभाप्रति आम नागरिकको आस्था र विश्वास बलियो बनाउन प्रदेश सभा तथा प्रदेश सांसदहरु नागरिकका आवश्यकता, भावना र आवाजप्रति सधैं गम्भीर हुनु जरुरी हुन्छ । प्रदेश सभाले मुलतः प्रदेश शासनलाई जनमैत्री बनाउन तथा जनताको हितमा केन्द्रीत गर्न आवश्यक ऐनकानून, नीति नियम बनाउने नै हो । सुदूरपश्चिम प्रदेशमा अहिले पनि आर्थिक, सामाजिक क्षेत्रमा निकै समस्या र चुनौति छन् । प्रदेश सरकार गठन भएको तीन वर्ष पुरा भइसक्दा पनि प्रदेशमा उल्लेख्य रोजगारी सिर्जनाका लागि महसुस गर्ने खालका एउटै पनि योजना सञ्चालन हुनसकेको छैन । सरकारले पटकपटक घोषणा गरेका प्रदेश गौरवका योजनाहरु अहिले पनि साकार बन्न सकेको देखिदैन । प्रदेशका मुख्यमन्त्रीले प्रदेशका विभिन्न जिल्लाका बासिन्दाहरु रोजगारीका लागि भारतका विभिन्न स्थान धाउनु पर्ने र निकै निकृष्ट खालका रोजगारी गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको पनि तीन वर्ष वितिसक्यो । तर, अहिलेसम्म प्रदेशभित्रै रोजगारीका पर्याप्त अवसर सिर्जना गर्नेतर्फ कुनै आशलाग्दो काम हुनसकेको देखिदैन ।

घोर गरिबी, सामाजिक तथा सांस्कृतिक कुसंस्कार र कुप्रथाको अवस्था अझैं कायम छ । भौगोलिक कठिनाई छ । शिक्षा, स्वास्थ्य, सडक यातायात लगायतका क्षेत्रमा अहिले पनि धेर्रै उत्साह हुनसकिने अवस्था छैन । प्राकृतिक विपदका कारण यस वर्ष पनि सुदूरपश्चिममा जनधनको निकै ठूलो क्षति भएको छ । यी सबै वस्तुस्थितिबीच प्रदेश सभाले यी सबै समस्याप्रति प्रदेश सरकारलाई गम्भीर बनाउन तथा जनताको पक्षमा काम गर्न गराउन प्रभावकारी भूमिका निर्वाह गरेको हुनुपर्दछ । बिडम्बना, प्रदेश सभा कामबिहीन अवस्थामा पुगेको छ । त्यसैले प्रदेश सभाप्रति नागरिकको आस्था र भरोशा बृद्धि गर्नका लागि यो सर्वोच्च थलो पूर्ण रुपमा क्रियाशील बनाउनेतर्फ सरकार, प्रदेश सांसद सबै गम्भीर हुनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार