१२ बैशाख २०८१, बुधबार

सम्पादकीय : राष्ट्र, संविधान र लोकतन्त्रका लागि जाग्नु पर्ने दिन



आज शहीद दिवस । हरेक वर्ष साताव्यापी रुपमा मनाइने शहीद दिवसको आज प्रमुख दिन । एक सय चार वर्षे जहानिया राणा शासनको अन्त्य तथा मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि चार जना वीर नेपाली सपुतले हासीहासी प्राणोत्सर्ग गरेकोको स्मरणमा मनाइने शहीद दिवस । नेपालमा प्रजातन्त्रको स्थापना तथा पुनस्र्थापनादेखि अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय राज्य व्यवस्था ल्याउनका लागि भएगरेका तमाम आन्दोलन, संघर्षका क्रममा प्राणको आहूति दिएका सम्पूर्ण ज्ञात तथा अज्ञात शहीदहरुप्रति पुरै राष्ट्रले उच्च सम्मान अर्पण गर्ने दिन । नेपालको प्रजातान्त्रिक तथा राष्ट्रिय अखण्डता र स्वाधिनता, नागरिक अधिकार र स्वतन्त्रताका लागि भएका संघर्षको लामो इतिहास र त्यसमा नेपाली सपुतहरुले निर्वाह गरेको भूमिकाका गाथाहरुको स्मरणले साच्चै नै उनीहरु प्रति उच्च सम्मानभाव पैदा हुन्छ । यद्दपि दलगत राजनीतिक स्वार्थबस पछिल्ला वर्षहरुमा कुनै पनि घटनामा मृत्यु भएका व्यक्तिहरुलाई पनि शहीद घोषणा गर्ने प्रवृत्ति फस्टाएको छ, तर राजनीतिक दल वा अरु पक्षका निहीत स्वार्थबस जो कोहीलाई पनि शहीद घोषणा गर्दैमा ती वास्तविक महान सपुतहरुको बलिदान र योगदान किञ्चित पनि कम हुदैन ।

अहिले मुलुकलाई शासकहरुले एक पटक पुनः राजनीतिक अन्योल र अस्थिरताको भूमरीमा झोकेका छन् । सत्ता र शक्तिको उन्माद र अहंकारमा अहिले नेपालको संविधानमाथि नै खेलवाड गर्ने कुचेष्टा गरिएको छ । सात दशक लामो नेपाली जनताको अथक संघर्ष र बलिदानको परिणामस्वरुप प्राप्त भएको नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकलाई दीगो शान्ति र समृद्धिको नया युगमा प्रवेश गराउने जनताको विश्वासमाथि कुठाराघात गरिदैछ । नेपाली जनताले पछिल्लो निर्वाचनमार्फत एउटै दललाई दुई तिहाई नजिकको मत दिएर कम्तिमा अबदेखि संविधानमा व्यवस्था भए अनुसार पांच वर्षसम्म स्थीर सरकारको कामना गरेकोमा अहिले सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादमा राष्ट्र, संविधान, राजनीतिक प्रणालीलाई नै कमजोर बनाउने अत्यन्त दुर्भाग्यपूर्ण खेल भएको छ । वास्तवमा अहिलेको नियोजित राजनीतिक घटनाक्रम नेपाली जनताको दीगो शान्ति र समृद्धिको सपनामाथिकै बज्रपात हो र इतिहासले यसको हिसाबकिताब निश्चय पनि खोज्ने नै छ ।

शहीद दिवसको अवसरमा तमाम ज्ञात अज्ञात शहीदहरुको स्मरण गरिरहदा एक चोटी पुनः आम नेपाली जनताले ती शहीदहरुका सपनाबारे पनि सम्झनु पर्दछ । ती सपुतहरुले पक्कै पनि अहिलेको जस्तो राजनीतिक अस्थिरता तथा कलहका लागि आफ्नो प्राणको बलिदान दिएका थिएनन् । जनताको मत पाएर सत्तारुढ भएको दल तथा जनप्रतिनिधिले सत्ता र शक्तिको अहंकारमा राष्ट्र र जनतालाई नै अपमान गर्न कदापि पाउदैन भन्ने पनि आजको दिनमा प्रत्येक नेपाली जनताले फेरि पनि मनन् गर्नुपर्दछ । हामी संविधानको सर्वोच्चतामा विश्वास गर्दछौं । संविधान अनुसार गठन भएका राज्यका प्रत्येक अंग, निकाय र संस्थाले संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुसार नै सञ्चालन हुनु पर्दछ, निर्णय गर्नु पर्दछ । सत्ता र शक्तिको अहंकारमा कोही कसैले पनि आफूलाई संविधानभन्दा माथि राख्ने कुचेष्टा गर्दछ भने त्यो कदापि क्षम्य हुन सक्दैन । त्यसैले पनि अहिले आम नेपाली नागरिकले एक पटक पुनः वीर शहीदहरुको बलिदानलाई बोध गरेर राष्ट्र, संविधान तथा लोकतन्त्रको रक्षार्थ जाग्नु पर्ने वेला भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार