८ बैशाख २०८१, शनिबार

कांग्रेसले आफ्नै बलबुतामा आन्दोलन गर्छ



डाक्टर शेखर कोइराला
नेता, नेपाली कांग्रेस

  • संसद विघटनको असंवैधानिक निर्णय अदालतले उल्टाएमा सच्चिन्छ ।
  • कांग्रेस नेकपाको कुनै पक्षसंग मिलेर होइन, एक्लै आन्दोलनमा जानुपर्छ ।
  • प्रदेशमा ओली पक्षको सरकार हटाउन लाग्नुपर्छ ।
  • प्रदेश १ र बाग्मती प्रदेशमा मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेस ।
  • अरु फुटेर हामी जित्छौ भन्ने भ्रममा पर्नुहुन्न ।
  • आगामी भदौसम्म महाधिवेशन भएन भने कांग्रेस पार्टीको अस्तित्व नै संकटमा पर्छ ।
  • वडादेखि केन्द्रसम्म युवाहरुको प्रतिनिधित्व बृद्धि गर्नैपर्छ ।
  • अनुभवले नीति बनाउँछ । उर्जायुक्त युवाले कांग्रेस नीतिलाई गाउँगाउँ पुर्‍याउँछन् ।

नेपाली कांग्रेसका कार्यकर्तामा द्विविधा छ । प्रतिनिधि सभा विघटनको सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ रामचन्द्र पौडेलले नै फरकफरक अभिव्यक्ति दिएपछि कार्यकर्तामा द्विविधा हुनु पनि स्वाभाविक हो । प्रतिनिधि सभा विघटनको विषयमा किन फरकफरक विचार किन दिइएको भन्ने कार्यकर्ताको प्रश्न उठ्नु स्वाभाविक हो । केही अलमल चाहि“ केन्द्रीय नेताहरुमा पनि अवश्य छ ।

कांग्रेसको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण ठहर गरेको छ । केन्द्रीय समितिले सरकारको यो गैरसंविधानिक कदमलाई सच्याउन पर्छ भनेर निर्णय पनि गरिसकेको छ ।

यो असंवैधानिक कदम कसले सच्याउने ? यसको सिम्पल उत्तर छ– सर्वोच्च अदालतले । यो असंवैधानिक कमद कसरी सच्चिन्छ ? प्रतिनिधि सभा विघटनको निर्णयलाई उल्टाएर ।
हामी संसद पुनःस्थापनाको फैसलासंगै थप अर्को कुरा पनि भनिरहेका छौं । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले अदालतको फैसलालाई स्विकार गर्दछ । कथंकदाचित प्रतिनिधि सभा विघटनको सरकारको निर्णयलाई अदालतले सदर ग¥यो भने निर्वाचन सुनिश्चिताका लागि पनि हामी सडकमा ओर्लनु पर्दछ ।

आगामी बैशाखमा निर्वाचन हुन नसक्ने धेरैको मत छ । निर्वाचन गराउने जिम्मेवारी कांग्रेसको होइन । संसद पुनःस्थापना भएन भने वैशाखमा निर्वाचन गराउन सरकारलाई कांग्रेसले ठूलो दबाब दिनुपर्दछ ।

अहिले संविधान ‘ट्रयाक’ बाट ‘आउट’ भएको छ । कांग्रेस नेतृत्वको सरकारले बनाएको संविधान संसद पुनःस्थापना भए मात्र ट्रयाकमा आउँछ । आगामी वैशाखमा निर्वाचन हुन सकेन भने नेपाल फेरि द्वन्द्वमा फस्ने निश्चित छ ।

अहिले केही पक्ष प्रतिनिधि सभा विघटनमा प्रधानमन्त्री केपी ओलीलाई मात्रै दोष दिइरहेका छन् । तर पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालहरु पनि यही सरकारका मतियार हुन् । यो सरकारले गरेका कुनै पनि असंवैधानिक कार्यमा उनीहरुले पनि विगतमा साथ दिएका होइनन् र ? त्यसैले प्रतिनिधि सभा विघटनमा केपी ओली सरह नै प्रचण्ड र माधव पनि दोषी हुनुहुन्छ ।

अहिले कांग्रेसका नेतादेखि कार्यकर्ताहरुमा नेकपाको कुन पक्षलाई सहयोग गरेर जाने भन्नेमा द्विविधा छ । कांग्रेसको केन्दीय समितिमा पनि यो सवालमा मतान्तर छ । कांग्रेसको छुट्टै विचार र पहिचान भएकाले हामीले दुइटै समूहसँग मिलेर जान हुँदैन । हामीले आफ्नै खुट्टामा उभिएर विरोधमा उत्रिनुपर्छ । ‘बिपी कोइरालाले कम्युनिस्टसँग सहकार्य नगर’ भनेर जानुभएको छ । गणेशमान सिंह, किसुनजी र गिरिजाप्रसाद कोइरालाले केही कारणले गर्दा कम्युनिस्टसंग सहकार्य गर्नुभएको थियो । अब, सच्चिनुपर्ने बेला आएको छ । कम्युनिस्टसँग सहकार्य र हातेमालो गरेर होइन, कांग्रेस आफ्नै खुट्टामा उभिन सक्छ भनी देखाउनु छ । र, हामी देखाउँछौं पनि ।

कांग्रेसका कार्यकर्ताको मनमा अर्को पनि प्रश्न उब्जिरहेको छ । सभापति शेरबहादुर देउवा कतै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य त गर्नुहुन्छ भन्ने कार्यकर्तामा आशंका छ । अर्कोतर्फ, वरिष्ठ नेता पौडेल (रामचन्द्र) प्रचण्ड–माधव समुहसंग मिलेर जानुपर्छ भन्ने धारणामा अडिक हुनुहुन्छ कि भन्ने आशंका पनि उत्तिकै छ । त्यसैले कांग्रेस कुनै पक्ष, समुहसँग मिलेर जानै हुँदैन ।

अहिले प्रदेश १ र बाग्मती प्रदेशमा नेकपाको प्रचण्ड–माधव समूहले प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । यी दुई प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि कसरी जाने भन्नेमा कांग्रेस अप्ठ्यारोमा छ । कांग्रेसले जुन पक्षलाई सहयोग गर्छ, त्यही पक्षको सरकार बन्छ । अथवा, उनीहरुको जुन पक्षले सहयोग गरे पनि हाम्रो सरकार बन्नसक्छ । पार्टीले गम्भीरता देखायो भने प्रदेशमा पनि कांग्रेसको सरकार बन्ने अवस्था आउनसक्छ ।

तारमा कुनै पक्षलाई सहयोग गर्ने निर्णय गरियो भने कांग्रेस फेरि दुर्घटनामा पर्नसक्छ । मेरो स्पष्ट मत छ– काँग्रेसले अविश्वासको प्रस्तावको पक्षमा मत हाल्नुपर्छ । नेकपाको ओली पक्षको प्रदेश सरकारलाई हटाउनु पर्दछ । त्यसपछि कांग्रेसको हात कसरी बलियो बनाउने भन्नेमा छलफल गर्नुपर्दछ ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भन्नुको अर्थ निर्णय सच्चाऊ भन्नु नै हो । कांग्रेसले केन्द्रदेखि वडासम्म असंवैधानिक कदम भनी विरोधमा उत्रिसकेका छौं । आगामी १३ गते बस्ने केन्द्रीय समितिको बैठकले फेरि विरोधका कार्यक्रम तय गर्छ ।

नेकपा फुट्यो, हामी जित्छौं भन्ने भ्रममा कांग्रेस पर्नु आवश्यक छैन । नेकपा फुटेर कांग्रेसले जित्ने होइन । नेकपा ‘क्याडर बेस्ड’ पार्टी हो । त्यो भोट उनीहरुकै खेमामा जान्छ । कांग्रेस ‘मास बेस्ड’ पार्टी हो । कांग्रेसप्रति चित्त बुझेन भने जनताले भोट दिंदैनन् ।

पार्टी अहिले अप्ठ्यारो स्थितिमा छ । एकातिर संसद विघटन भएको छ । अर्कोतिर, कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल आगामी फागुनमा सकिंदैछ । हामीले अझैं महाधिवेशनको नया“ मितिको निक्र्यौल गर्न सकेका छैनौं । क्रियाशील सदस्यता टुंगाउने जिम्मेवारी तल्लो कमिटीलाई छ । क्रियाशील सदस्यता टुंगो लगाउने क्रममा विवाद हुनसक्छ । विवाद भए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको काम पुरा गर्नै पर्छ । समयमा क्रियाशील सदस्यता वितरण सम्बन्धी काम सकिएन भने अन्तिम म्याद भदौमा पनि महाधिवेशन हुन सम्भव हुदैन ।

हामीले आगमी भदौ महिनाभित्र पनि महाधिवेशन गर्न सकेनौं भने कांग्रेस नै नरहने अवस्था आउन सक्छ । महाधिवेशनले मात्रै कांग्रेसलाई उर्जा थप्छ । नयाँ नेतृत्वले नयाँ ढंगले पार्टीलाई अघि बढाउ“छ । त्यसपछि मात्र कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ ।

यदि बैशाख मै चुनाव हुने परिस्थिति बन्यो भने भदौभित्र महाधिवेशन गर्नुपर्छ । यदि चुनाव नहुने अवस्था भयो भने पनि भदौमा महाधिवेशन गर्नैपर्छ । भदौअघि महाधिवेशन गर्नुको कुनै विकल्प हामीसामु छैन । महाधिवेशन नगरी कांग्रेसलाई कमजोर पार्ने कार्य हामी गर्न दिदैनौं ।

मैले कांग्रेसलाई थप उर्जा भर्ने प्रण गरेको छु । तलका कार्यसमितिमा युवाहरुलाई पहिलो प्राथमिकता हुनुपर्छ । ५० प्रतिशत बढी युवाहरु कांग्रेसका कार्यसमितिमा हुनुपर्दछ । पार्टीलाई जीवन्त राख्ने हो भने युवाहरु कार्यसमितिमा हुनुपर्दछ । केन्द्रीय समितिमा ५० प्रतिशत सदस्य युवा हुने अवस्था बने कांग्रेस अनुभव र उर्जाले भरिएको दल बन्नेछ । अनुभवले नीति बनाउ“छ । उर्जायुक्त युवाले कांग्रेस नीतिलाई गाउँगाउँ पुर्‍याउँछन् ।

कांग्रेसलाई मजबुत बनाउन क्रममा पार्टीभित्रै विभेद भएको पनि छ । कार्यकर्तालाई अन्यायमा पर्न दिइने छैन । गलत प्रवृत्तिको प्रोत्साहन दिइने छैन । पार्टीका लागि मेहनत गर्नेलाई नै वडादेखि माथिसम्मको टिकट उपलब्ध हुनेछ ।

कांग्रेसको काँधमा लोकतन्त्रलाई बचाउने दायित्व छ । साथै, राष्ट्रियता बलियो बनाउने जिम्मेवारी पनि कांग्रेसलाई छ । कांग्रेसमाथि इतिहासले एकपटक फेरि अभिभारा सुम्पेको छ । यो जिम्मेवारी हामीले कुशलतापूर्वक बहन गर्नै पर्दछ ।

कञ्चनपुरको बेलौरीमा आयोजिक कार्यकर्ता भेलामा व्यक्त विचारमा आधारित संपादित अंश ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार