१४ बैशाख २०८१, शुक्रबार

खप्तड घुम्न हेलिटुर प्याकेज



धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख गन्तव्यका खप्तड भ्रमणका लागि खप्तड होम स्टेले हेलिटुर प्याकेज ल्याएको छ ।

होम स्टेले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी १४ देखि १८ गतेसम्म सो प्याकेज अन्तरगत तीन सय पर्यटकलाई खप्तडमा भित्र्याउने लक्ष्य राखेको जनाएको छ ।

होमस्टेका प्रवन्ध निर्देशक दीपक कुमार खड्काले पैदल र सडक मार्ग हुँदै खप्तड जाने अवस्था नभएपछि हेलिकप्टर मार्फत खप्तड भ्रमण गराउने प्याकेज ल्याएको बताए ।

उनले हेलिकप्टर मार्फत खप्तड पुग्नका लागि पाँच वटा प्याकेजहरू तयारी गरिएको जनाए । उनले खप्तडमा पर्यटकले हिउँमा समेत रमाउन पाउने बताए । होम स्टेले हेलिकप्टरमा दिपायलदेखि खप्तड भ्रमणका लागि १० हजार, झिंग्रानादेखि खप्तड भ्रमणका लागि ८ हजार, धनगढीदेखि खप्तड भ्रमणका लागि ३० हजार रुपैयाँको प्याकेज तयार गरेको छ ।

यसैगरी, धनगढीदेखि दिपायलसम्म प्लेनमा गएर दिपायलदेखि खप्तडसम्म हेलिकप्टरमा जाँदा एक रात २ दिनको खान बस्न सहित २१ हजार ५ सय र धनगढीदेखि बुकिङ गाडीमाफ्त स्थलमार्गबाट दिपायलसम्म र त्यहाँबाट खप्तडसम्म हेलिकप्टरमा जान १५ हजार रुपैयाँको प्याकेज बनाएको होम स्टेका प्रबन्ध निर्देशक खड्काले बताए । उनले प्याकेज शुरु भएको स्थलसम्म फर्किन जाँदाकै यातायातका साधन प्रयोग हुने प्याकेजमा व्यवस्था रहेको बताए । उनले झिंग्रानादेखि खप्तडसम्मको प्याकेजमा सञ्चारकर्मीको लागि ७ हजार रुपैयाँ शुल्क तोकिएको बताए ।

उनले प्रदेशकै सुन्दर तथा मनमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि हेलिकप्टर टुर प्याकेज ल्याएको बताए । उनले कूल २२ वटा पाटन र ५३ थुम्का रहेको खप्तडमा उक्त प्याकेजले सहजै अवलोकन गर्न सकिने बताए ।

सुदूरपश्चिममा खप्तड क्षेत्रलाई भूस्वर्गका रूपमा चिनिंदै आएको छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि खप्तड भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा चिरपरिचित रहेको स्थानीयवासी धर्मबहादुर साउदले बताए ।

समुद्री सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २२५ वर्ग किलोमिटरमा फैलिए छ । खप्तडमा पुस–माघमा हिउँ पर्ने भएकाले प्रायः सेताम्मे देखिने गर्दछ । जेठदेखि असार महिनासम्म विशाल फाँटमा रंगीचंगी फुलेका फूलले खप्तडको शोभा झनै बढाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार