१३ बैशाख २०८१, बिहीबार

पर्यटकको पहिलो रोजाईमा खप्तड र शुक्लाफाँटा



कोरोना कहरबीच पर्यटन गतिविधि

धनगढी । नोबेल कोरोना भाइरस (कोभिड–१९) कहरबीच सुदूरपश्चिम प्रदेशमा विस्तारै पर्यटन गतिविधिहरू सञ्चालन हुन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशका खप्तड, शुक्लाफाँटा, चिसापानी, घोडाघोडी लगायतका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकहरूको आगमन बढ्न थालेको छ । कोरोना भाइरसको सन्त्रासमै पर्यटकहरू सावधानी अपनाउँदै आउन थालेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।

नेपाल पर्यटन बोर्डले हालै गठन गरेको आन्तरिक पर्यटन पुनरुत्थान समितिको सुदूरपश्चिम प्रदेश संयोजक मायाप्रकाश भट्टले लकडाउनमा घरभित्रै बसेर उकुसमुकुस भएका थुप्रै मानिसले घुमफिर गर्ने सोचमा रहेको बताए । तीमध्ये केही मानिसहरू घुरफिर गर्न थालेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा घुमफिर गर्न रुचाउने मानिसहरू मध्ये अधिकांशको रोजाईमा खप्तड राष्ट्रिय निकुञ्ज परेको पर्यटन व्यवसायीहरुको अनुभव रहेको छ । संयोजक भट्टले धनगढीबाट दैनिक दुई÷तीन टोली खप्तड घुम्नका गइरहेको बताए । उनले बझाङ, बैतडी, डोटी र अछामबाट समेत टोलीहरू खप्तड घुम्न गइरहेको जनाकारीमा आएको बताए ।

सामान्य अवस्था जत्तिकै पर्यटकहरूको मुभमेन्ट नभएपनि फाटफुट रुपमा सुदूरपश्चिमका पर्यकीय क्षेत्रमा आन्तरिक पर्यटकहरू आइरहेका छन् । सबै भन्दा धेरै खप्तड र त्यसपछि शुक्लाफाँटामा पर्यटकहरूको मुभमेन्ट रहेको संयोजक भट्टले बताए ।

खप्तड र शुक्लाफाँटा नै नपुग्न सक्ने पर्यटकहरूका लागि चिसापानीमा सलन गरिएको जीपलाईन, घोडाघोडी तालमा बोठिङ, खानीडाँडामा सञ्चालन गरिएको एड्भेन्चर पार्क लगायतका गन्तव्य आकर्षक भएका छन् । स्थलमार्गबाट खप्तड जाने पर्यटकहरूका लागि बाटोमा पर्ने डडेल्धुराको उग्रतारा र डोटीको शैलेश्वरी पनि सहायक गन्तव्य भएका छन् ।

अन्य वर्षहरू जस्तै यसपाली पर्यटकहरू खप्तडमा नभए पनि पर्यटक आगमन शुन्य नभएको पर्यटन व्यवसायी किशोर खड्काले बताए । उनले प्रदेशभित्रैबाट र काठमाडौंबाट आएर मानिसहरू खप्तड भ्रमणमा गइरहेको बताए । पर्यटकहरू आउन थालेपछि स्थानीयमा कोरोना संक्रमणको त्रास बढेपनि स्वास्थ्य साबधान अपनाउँदै पर्यटकहरूको स्वागत भइरहेको व्यवसायी खड्काले बताए ।

कोरोना कहरकै कारण आफूले पर्यटकहरू सुदूरपश्चिम भ्रमणमा नबोलाएको संयोजक भट्टले बताए । नबोलउँदा पनि रहरले घुम्न आउने पर्यटकहरूलाई साबधानी अपनाउँदै भ्रमणका लागि पथ प्रदर्शन गरिरहेको उनले बताए । ‘हामीले भ्रमणका लागि आव्हान गरेका छैनौं,’ उनले भने, ‘तर भ्रमणमा आउने पर्यटकहरूलाई साबधानी अपनाउन आग्रह गरेर भ्रमण गर्ने सहज बाटो देखाइरहेका छौं । कतिपय भारतीय पर्यटकहरूले पनि पिसिआर गरेर आफ्नै भेकलमा भ्रमणमा जान्छौं भनिरहेका छन् तर तत्कालै उनीहरूलाई भ्रमण गराउन सक्ने सम्भावना छैन ।’

हवाईं सेवाले पर्यटक आकर्षित

धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका पाँच वटा विमानस्थलमा हवाई उडान सेवा चल्न थालेपछि खप्तड जाने पर्यटकहरूलाई सहज भएको छ ।

यसै महिनाबाट धनगढी विमानस्थलबाट बझाङ (चैनपुर–देवल), अछाम (साँफेबगर), डोटी (दिपायल), बाजुरा (कोल्टी) र बैतडी (पाटन) विमानस्थलसम्म हवाई सेवा सञ्चालनमा आएको छ । बझाङको चैनपुर–देवल र अछामको साँफेबर विमानस्थलका लागि धनगढीबाट दैनिक उडान भइरहेको छ । धनगढी विमानस्थल प्रमुख तेजबहादुर बुढथापाले बझाङमा कुनै दिन दुई वटासम्म उडान भइरहेको बताए । उनले बझाङ र अछामका लागि यात्रु चाप बढिरहेको बताए ।

दिपायल र पाटनमा मंगलबार र शुक्रबार उडान भइरहेको छ भने कोल्टीमा हप्ताको तीन उडान भइरहेको प्रमुख थापाले बताए । उनले शुक्रबार (आज) धनगढीबाट रारा जाने पर्यटकका लागि हुल्लाको सिमिकोट विमानस्थलका लागि उडान शुरु गरिने जनाए । धनगढी विमानस्थलबाट समिट एयरले १८ सिटे एउटा जहाजबाट ति विमानस्थलहरूका लागि उडान भर्ने गरेको छ ।

पर्यटन व्यवसायी खड्काले धनगढी हुँदै खप्तड जाने पर्यटकका लागि धनगढी–बझाङ हवाई सेवाले सहज बनाएको बताए । उनले बझाङबाट खप्तड जानेबाटो सहज भएकाले पर्यटकहरूले धनगढी–बझाङ हवाई सेवा प्रयोग गरिरहेको बताए ।

पर्यटन प्याकेज बनाउँदै समिति

नेपाल पर्यटन बोर्डले हालै गठन गरेको आन्तरिक पर्यटन पुनरुत्थान समितिको सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिम भ्रमणको लागि प्याकेज बनाउन थालेको छ । यसवर्ष कोरोनाका कारण पर्यटन गतविधि गर्न नसकिने भएकाले डकुमेन्टेशनमा लागेको समितिका संयोजक भट्टले बताए ।
उनले उनले सुदूरपश्चिम भ्रमणको तीनदेखि नौं दिनको प्याकेज बनाउने काम भइरहेको बताए ।

‘सो प्याकेज अनुसार आउँदो तीन वर्ष (२०२१, २०२२ र २०२३) सम्पूर्ण नेपालीहरूले सुदूरपश्चिम भ्रमण गर्न सक्ने गरी तयारी गरिरहेका छौ,’ संयोजक भट्टले भने, ‘यसका लागि हामीले पर्चा, पम्पलेट, ब्रोसरहरू पनि बनाइरहेका छौं । यस वर्ष हामीले पूर्ण रुपमा तयारी गर्छौ । कोरोना सकिएपछि हामीले देशबासीहरूलाई सुदूरपश्चिम भ्रमणका लागि आव्हान गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार