१५ चैत्र २०८०, बिहीबार

अमरगढी किल्लामा सेनाले बनायो ‘कोतघर’



डडेल्धुरा / नेपालकै एकमात्र जिवित ढुङ्गे किल्लाका रुपमा रहेको डडेल्धुराको अमरगढी किल्लामा नेपाली सेनाले ‘कोतघर’निर्माण गरेको छ ।

नेपाल एकिकरणका दौरान अमरसिंह थापाले निर्माण गरेको किल्लामा सेनाले कोतघर निर्माण गरेको हो । अमरगढी किल्लामा यसअघि रहेको कोतघरको भग्नावशेष मात्रै रहेकोमा सेनाले पुस्तकालय सहितको कोतघर निर्माण गरेर अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको रणबंम गणका गणपति विक्रमदेव गिरीले जानकारी दिए ।

नेपालको एकमात्र जिवित अमरगढीकिल्लामा नेपाली सेनाले कोतघर निर्माण गरेर स्थानीय सरकारलाई हस्तान्तरण गरेको र आगामी दिनमा समेत स्थानीय तहसंग समन्वय गरेर किल्लाका प्राचिन महत्व झल्किने चिजवस्तु निर्माणमा सहयोग गर्ने सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति निर्मलकुमार थापाले बताए ।

किल्लाको कोतघरमा रहेका पुराना हतियारहरुको खोजीगरिने र संग्रहालयको रुपमा राख्न सकिने पृतनापति थापाले बताउनुभयो । अमरगढी किल्ला देशको एकिकरणको गाथासंग जोडिएको जिवित किल्ला भएकाले यसले डडेल्धुरा जिल्लाको मात्र नभई देशको गौरवगाथासंग जोडिएको अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।

किल्लाको संरक्षण र संवद्र्धनका साथै यसको विकासका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको भन्दै अन्य धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुलाई समेत जोडेर पर्यटन विकास गर्न सकिने नगरप्रमुख ओझाले बताए ।

तत्कालिन समयमा नेपाल एकिकरणमा प्रयोग भएका हातहतियारहरु कुनै कसैसंग भएमा संग्रहालयमा बुझाउन समेत नगरप्रमुख ओझाले आग्रह गरे ।

नेपाल एकिकरणका समयमा बडाकाजी अमरसिहं थापाले निर्माण गरेको किल्ला भएकाले यसको नामाकरण पनि अमरगढी किल्ला भनेर गरिएको हो । हाल किल्लामा अन्य संरचनाहरु समेत निर्माण भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार