१४ बैशाख २०८१, शुक्रबार

उचित संरक्षणको अभावमा ऐतिहासिक दरबार जीर्ण बन्दै



डोटी । उचित संरक्षणको अभावमा ऐतिहासिक दरबार तथा धर्मशालाहरु वर्षेनी जीर्ण बन्दै गएका छन् । अझ कतिपय धर्मशाला व्यक्ति स्वयंले प्रयोग गरिरहेका छन् ।

doti_woTyLkUfyw

डोटीको शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिका तथा जोरायल गाउँपालिका, सायल गाउँपालिका, बडिकेदार गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिका तथा बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न स्थानमा राणाकालीन समयमा निर्माण गरिएका सयौं धर्मशाला उचित संरक्षण तथा मर्मतसम्भारको अभावमा भत्किने अवस्थामा पुगेका छन् ।
बटुवाहरुलाई विश्राम गर्नका लागि निर्माण गरिएका धर्मशालाहरुको संरक्षणमा सरकारी तथा स्थानीय तहबाट संरक्षण र मर्मतको पहल नभएको जोरायल गाउ“पालिका वडा नम्बर ३ का स्थानीय दिनेशबहादुर मल्लले बताए । उनले भने– बटुवाहरुलाई बास बस्नका लागि बनाइएका धर्मशालाहरु भत्किन थालेका छन्, तर कसैले पनि संरक्षणप्रति ध्यान दिएका छैनन् ।
तराईबाट पहाड आउने तथा पहाडबाट तराई जाने बटुवाका लागि डोटीको जोरायल गाउ“पालिका तथा शिखर नगरपालिकाको नापानी, तेलेलगायत ठाउ“मा धर्मशाला रहेका छन् , तर, अहिले अधिकांस धर्मशाला गाईभैसीको गोठ बनेका छन् ।
जोरायल गाउ“पालिका वडा नम्बर ५ का निरोज बिष्टले भने– प्राचीन धरोहरको संरक्षण गर्न कसैले चासो देखाएका छैनन्, यो विडम्बना हो ।
शिखर नगरपालिका वडा नम्बर १ नापानीमा तत्कालीन राजा वीरेन्द्रको पालामा बनेको सिलेटले छाएको एकतले पक्की धर्मशालामा एकजना कर्मचारी भर्ना गरी विगतमा बटुवाले गाईगोरु ब“धेको र मान्छे सुतेको पैसा लिने गरिएको थियो । अहिले नगरपालिकाले वनभोज खानेस्थल ‘पिकनिक स्पट’ बनाउने भन्दै कर्मचारी हटाइएपछि सो धर्मशाला व्यक्तिले निजी प्रयोग गरिरहेको स्थानीयवासी बताउ“छन् ।
शिखर नगरपालिका वडा नम्बर १ का श्याम बोगटीले भने– साविकको कपल्लेकी गाविसले धर्मशालाको संरक्षणका लागि कर्मचारीको व्यवस्था गरेको थियो, अहिले शिखर नगरपालिकाले कर्मचारी हटाएपछि धर्मशाला गाईभै“सी गोठ बनेका छन् ।
दिपायल सिलगढी नगरपालिकाका पूर्व प्रमुख घनश्याम पाठकले अछाम, डडेल्धुरा, बाजुरा, बझाङ, कालीकोट र सुर्खेत जिल्लाबाट डोटी हुदै आवतजावत गर्न छोटो तथा सजिलो बाटो भएकाले राणाकालमा डोटीमा धेरै धर्मशाला निर्माण भएको पाइएको बताए । उनले भने– डोटीबाट अन्य जिल्ला जान सजिलो हुने तथा डोटीमा राणाकालमा गौ“डा समेत भएका कारण यहा“ धरै ठाउ“मा सरकारी धर्मशाला निर्माण भएका थिए, तर संरक्षणप्रति ध्यान नदिदा कतिपय भत्किसके, कतिपय व्यक्तिले आफनो निजी बनाए ।
डोटी जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले जिल्लामा भएका पाटीपौवा र धर्मशाला सार्वजनिक भएकाले यसको संरक्षणको दायित्व स्थानीय तहको क्षेत्राधिकारमा पर्ने भएकाले समयमै उचित संरक्षण तथा मर्मतसम्भार गर्नुपर्ने बताए । उनले भने– आफनो ठाउ“मा निर्माण भएका धर्मशाला कसले प्रयोग गरेको छ, त्यसको अवस्था के छ ? भनेर खोजी गरी स्थानीय तहले संरक्षण गर्नुपर्छ । धर्मशालालाई मर्मत तथा सुधार गरी ‘होमस्टे’ पनि बनाउन सकिन्छ ।
डोटीको सदरमुकाम सिलगढीको ‘मल्लोढोका’ नामले चिनिने राणाकालीन दरबार पनि संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सो दरबार राणाकालीन गौ“डा रहेको समयमा लामो समयसम्म बडाहाकिमको निवासको रुपमा प्रयोग हुने गर्दथ्यो । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ नाचन्थलीमा रहेको सो दरबार राणा शासन समाप्त भएपछि धेरै वर्षसम्म जिल्ला पञ्चायत लगायतका विभिन्न सरकारी कार्यालयले प्रयोग गर्दै आएका थिए । बहादुर सम्सेर बडाहाकिम रहेको समयमा सिलगढीका एक जनालाई सो दरबार बिक्री गरिएपछि दरबारको संरक्षणको पक्ष कमजोर बनेको स्थानीय बताउ“छन् । तत्कालीन वडाहाकिम बहादुर सम्सेरले सिलगढीका सुरतबहादुर अमात्यलाई सो दरबार बिक्री गरेको बताइन्छ ।
सिलगढीका सिद्धराज श्रेष्ठका अनुसार सो दरबार र ४६ रोपनी जग्गा १० हजार रुपैयामा बिक्री गरिएको सुन्नमा आए पनि सो दरबार कुन सालमा र कति रकममा बिक्री गरियो भन्ने कसैसंग पनि एकीन जानकारी रहेको छैन । सो दरबारमा ४० वटा कोठा रहेका छन् । दरबारको वरिपरि सुसारे निवास, मनोरञ्जन घर, पूजा घर, कोतगार्डसमेत रहेकामा हाल ती भग्नावशेषमा परिणत भएका छन् । हाल आएर सो दरबारलाई सरकारी स्तरबाट विभिन्न प्रयोजनका लागि पटक पटक खरिद गर्ने प्रयास गरिएको बताइन्छ ।
पछिल्लो पटक डोटी क्याम्पसमा कृषि विषय पठनपाठनका लागि दिपायल सिलगढी नगरपालिकाले सो दरबार र आसपासको जग्गा खरिदका लागि प्रयास गरेको भए पनि रकममा कुरा मिल्न नसकेको नगर उपप्रमुख शिवराज खड्काले बताए । उनले भने– क्याम्पसमा कृषि विषय अध्यापन कार्य सञ्चालनका लागि नगरपालिकाले खरिद गर्न खोजेको थियो, तर रकममा कुरा नमिलेपछि किन्न सकेनौ“ ।
यसअघि दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ जोगीडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालय स्थापनाका लागिसमेत सो दरबार खरिदको चर्चा चले पनि कुरा नमिलेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार