७ बैशाख २०८१, शुक्रबार

बन्दाबन्दीका बेला पनि बालबालिका सुरक्षित हुन सकेनन्



टीकापुर । कैलालीमा बन्दाबन्दीका बेला पनि बालबालिकाहरु अपराधमा संलग्न भैरहेका र विना कारण ज्यान फालिरहेका छन् ।

यतिबेला अभिभावकसंगै छन्, बालबालिकाहरु पनि फुर्सतमा छन् तर पनि बालबालिका आत्महत्या र अपराधमा लागिरहेका छन् ।

‘कुनै कूलत नभएका बालक र कुनै समस्या नदेखिएका बालिकाले पनि आत्महत्या गरिरहेका छन्’ अघिल्लो महिना टीकापुर नगरपालिका शंकरपुरमा झुण्डिआत्महत्या भएको घटनालाई स्मरण गर्दै ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण वम भन्छन्, ‘राम्ररी पढनुपर्छ भन्ने आमाबाबाको चाहाना थियो भविष्यमा राम्रो सपना बोकेको बच्चा थियो, भविष्यमा के गर्छु भन्ने कुरा भित्तामै लेखेको थियो तर आफैलाई मारेछ ।’

जानकी गाउँपालिका वडा नम्बर ३ मा साउन २९ गते विहानै १३ वर्षका बालक आफ्नै सुत्ने कोठामा झुण्डिए । बालकका बुवा भारतबाट आएकाले नजिकैको विद्यालयमा क्वारेन्टाइनमा बसेर अघिल्लो रात घर आएका थिए ।

१३ वर्षका बालकका बुवा भन्छन्, विहान आठ बजेतिर दाजु आँगनमै बस्नुभएको थियो म नुहाउदै थिए अरु केटाकेटी खेलिरहेका थिए ऊ भित्र पसेर झ्यालढोका थुनेर झुण्डिएछ, देखादेख भयो कुरा गर्नै पाइएन ।’ बालककी आमाले भनिन, ‘खान, लाउन पनि माग्दैन्थ्यो, भनेको काम खुरुखुरु मान्ने र इमान्दार थियो विना कारण अकस्मात घटना भयो ।’

बन्दाबन्दी भएपनि बालकहरु लागू औषध सेवन र ग्यांगफाइटमा संलग्न भैरहेका छन् । यही बेला टीकापुर प्रहरीलाई अभिभावकले आफ्नो बच्चा कूलतमा लागेको गुनासोका आधारमा २० भन्दा बढी बालकहरु सुधार गृहमा पठाइएका छन् ।

नया विहानी पुनस्थापना केन्द्र टीकापुरका सञ्चालक तपेन्द्रबहादुर कुवर बन्दाबन्दीका बेलामात्रै १८ वर्ष वर्षमूनिका १४ नावालक सुधार गृहमा बसेर घर फर्केका बताउछन् । किशोरहरु समूहसमूहबीच झडपमा संलग्न हुने चक्कु हान्ने घटनामा सम्झाइबुझाइ मिलापत्र गरेर पठाउने गरेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक अनुसार चैत ११ देखि साउन मसान्तसम्म कैलालीमा ६० जनाले झुण्डिएर आत्महत्या गरेकोमा ३१ जना १८ वर्षमूनिका बालबालिका छन् । ती ३१ जना मध्येपनि आठ जना १४ वर्ष मूनिका बालबालिका छन् । यही अवधिमा विष सेवन गरेर १८ जनाले ज्यान फालेका छन ती मध्ये दश जना १८ वर्ष मूनिका छन ।

ती दश जना मध्ये चार जना १४ वर्षमूनिका छन् । यही अवधिमा ३७ वटा जवरजस्ती करणीका घटना भएकोमा पीडित १८ जना १८ वर्षमूनिका बालिका छन् भने पीडक पनि चार जना १८ वर्षमूनिका बालक छन् । १८ मध्ये पनि सात जना पीडित बालिका १४ वर्ष मूनिका छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट बन्दाबन्दीका बेला पनि सामान्य अवस्थाझैं घटना भैरहेको बताउछन् ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालका निर्देशक डा. पशुपति महत बन्दाबन्दीका बेला आफ्नै दैनिकी खल्बलिएका अभिभावकहरु आफै निराशा भएका र परिवारका सदस्यहरु लामो समयसंगै बस्दा सौहाद्र्धता गुमाउदै गएको बताउछन् ।

‘किशोरकिशोरीहरुको मनोभावना परिवर्तन भैरहेको हुन्छ व्यवहारमा विकृति आउछ यहीबेला राम्रा साथीहरु भेटन नपाउने र केही बद्मास साथीहरुको निरन्तर सम्पर्क भैरहदा बालबालिका गलत निर्णय लिन पुग्दछन् ।’

डाक्टर महत भन्छन्, ‘बालबालिका रिसाउदा चुप लाग्ने र शान्त भैसकेैपछि संझाउने प्रयास गर्नुपर्छ परिवारका पनि निराशा र दिक्दारी होइन आशाबादी र रमाइला कुरा गरेर जोगिनुको विकल्प छैन ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार