११ बैशाख २०८१, मंगलवार

दार्चुलाका एक कर्मचारीले मरेकोलाई जिवित बनाउदै भत्ता खाए



मृतकको नाममा भत्ता बुझेको विषयमा स्थानीयले खोधखोज गर्न थालेपछि वडाका प्राविधिक हरसिह बोहराले सोमबार कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुला गएर यसअघि भुक्तानी भइसकेको दुई किस्ता भत्ता अर्थात २४ हजार र तेस्रो किस्ता वाफत आएको १२ हजार गरेर ३६ हजार रुपैया फिर्ता गरको उनैले बताएका छन् ।


दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–५ रिठाचौपातामा मृतकको नाममा सामाजिक सुरक्षा भत्ता भुक्तानी गरिएको पाइएको छ । लेकम गाउँपालिका–५ मैखोली गैरका स्व.हरिदत्त जोशीको एक वर्षको भत्ता बुझेको पाइएको हो ।

२०७६ साल असार २३ गते मृत्यु भएका जोशीको २०७६ साउन महिनादेखि भत्ता शुरु भएको थियो । २०७६ सालदेखि सामाजिक सुरक्षा भत्ता पाउनका लागि २०७५ साल मङ्सिर महिनामा निवेदन दिएका जोशीको असारमै मृत्यु भएपनि साउनदेखि शुरु भएको एक वर्षको भत्ता बुझेको पाइएको हो ।

मृतकका आफन्तले २०७६ साल साउन १४ गते मृत्यु दर्ता गरिसकेको भएपनि मृत्यु दर्ता भइसकेपश्चात दुई किस्ता समाजिक सुरक्षा भत्ता वडा नम्बर ५ को वडा कार्यालयबाट हिनामिना भएको बताएका छन् ।

मृतकका दाइ धनदेब जोशीले भने, भाइ हरिदत्तको २०७६ साउनदेखि भत्ता शुरु भएपनि असारमै मृत्यु भएकोले हामीले बृद्धभत्ता बुझ्ने किताव अर्थात पासबुक लैजान समेत आएनौ, साउनमा मृत्युदर्ता गरिसकेकोले कसैले भत्ता बुझ्छ होला भन्ने कल्पना समेत गरेका थिएनौ, उनले भने, मृतकको वार्षिकी भइसकेपछि भत्ता बुझ्नका लागि वडा कार्यालयबाट खबर गएपछि अचम्म लागेको छ ।

गाउँमा सोधपुछ गर्दा कसैले पनि भत्ता बुझेको प्रमाण नभेटिएकोले वडा कार्यालयबाटै भत्ता हिनामिना भएको हुनसक्ने मृतकका अर्का आफन्त शम्भुराज जोशीको भनाइ छ । वडा कार्यालयले समेत भत्ता कसलाई दिएको हो भन्ने न त कुनै रेकर्ड राखेको छ, न कुनै मान्छेलाई दिएको जानकारी छ ।

उल्टै वडा कार्यालयबाट मृत्यु भइसकेका मृतकको एक वर्ष पछिको मृत्यु दर्ता गर्ने, वर्षभरिको भत्ता दिने, अन्तिम किस्ता बुझेर मृत्यु दर्ता गराउन आग्रह गर्ने लगायतका गलत आशयका जवाफहरु पाइएको स्थानीय केशवराज जोशीले बताए ।

वडा कार्यालयका सचिब लक्ष्मणराज बिष्ट र बृद्धभत्ता वितरणको जिम्मेवारी पाएका प्राविधिक हरसिंह बोहराले मृत्यु दर्ता भएको मानिसको नाममा भत्ता भुक्तानी गर्नु गल्ती भएको स्वीकार गरेपनि भत्ता कहाँ गयो भन्ने प्रश्नको जवाफ दिन सकेनन् ।

उल्टै प्राविधिक हरसिह बोहराले मृतकको नाममा भत्ता बुझेको विषयमा स्थानीयले खोधखोज गर्न थालेपछि सोमबार कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुला गएर यसअघि भुक्तानी भइसकेको दुई किस्ता भत्ता अर्थात २४ हजार र तेस्रो किस्ता वाफत आएको १२ हजार गरी ३६ हजार रुपैया फिर्ता गरेको बताए ।

मृतकको नाममा भत्ता आउनु, आएको भत्ता गैरकानुनी रुपमा वितरण गरिनु र वितरण भएको भत्ता वडा कार्यालयको कर्मचारीले फिर्ता गर्नुले वडा कार्यालयले नै मृतकको नाममा आएको भत्ता हिनामिना गरेको प्रष्ट सन्देश जाने मैखोलीका स्थानीय राधापल्लब जोशीले बताए ।

कानुनी रुपमा वडा कार्यालयले गल्ती गरेको प्रष्ट भएपनि मृतकको नाममा आएको भत्ता कहाँ, कसले, कसरी बुझेको हो भन्ने जानकारी नहुँदा वडा कार्यालयप्रति स्थानीयले प्रश्न गर्न थालेका छन् ।

मृतकका आफन्त सहित मैखोलीका १७ जना स्थानीयले सोमबार भत्ता हिनामिना भएको विषयमा छनबिन गरी सत्यतथ्य पत्ता लगाउन माग गर्दै वडा अध्यक्ष दिपेन्द्रसिह बोहरालाई निवेदन दिएका छन् ।

स्थानीयले सोधखोज गर्दाको तस्बिर

वडा अध्यक्षले समेत कार्यालयमा यति ठूलो गल्ती हुँदा समेत निगरानी गर्न नसकेको स्थानीयको आरोप छ । निवेदनको चित्तबुझ्दो जवाफ नआएमा थप कदम चाल्न पनि बाध्य हुने चेतावनीसहित मृतकका आफन्तले निवेदन दिएका हुन् ।

वडा कार्यालयले आन्तरिक छलफलका लागि भन्दै केही समय पर्खिन स्थानीयसंँग आग्रह गरेको छ । कानुनी प्रकृयामा पछि जानु होला केही समय पर्खिनु प¥यो हामी अध्ययन गरिरहेका छौ वडा कार्यालयको भनाइ उदृत गर्दे मृतकका आफन्त धनदेब जोशीले बताए ।

स्थानीयले वडा कार्यालयबाट मृत्यु भइसकेका अरु मानिसको नाममा समेत भत्ता हिनामिना भएको हुनसक्ने भन्दै छानविन गरिदिन गाउँपालिका र वडा कार्यालयलाई अनुरोध समेत गरेका छन् आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

#Darchula News #Lokendraprasad Joshi

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार