२० बैशाख २०८१, बिहीबार

सन्द्धर्भ बुद्ध जयन्ती : किन हेपिन्छन् नजिकका तीर्थ !



श्रीलंकामा १५ हजार भिक्षुहरु र छ हजार बढी बुद्धका मुर्तिहरु रहेको अनुमान छ । त्यसमध्ये दमबुला भन्ने ठाउँमा त १५३ वटा मुर्ति रहेको बताइएको थियो ।

मेरो बुझाईमा बुद्ध एउटा भौतिकवादी चिन्तक हुन । गोरखापत्रमा प्रदीप नेपालले बुद्धले पुर्नजन्म हुँदैन भनेको समेत लेखेका छन् । तर संसारभर उनलाई चिन्तककारुपमा भन्दा भगवानका रुपमा सम्झना गरिदा भने दुःख लाग्छ । गौतम बुद्ध आफै मुर्ति पूजाका विरोधी थिए तर उनैका मुर्ति संसारका धेरै ठाउँमा हिन्दु धर्मका भगवनाका मुर्ति झै सजाएर राखिएको छ ।

-प्रकाशविक्रम शाह

श्रीलंकाको कोलम्बो अर्थात वन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै टर्मिनल भवन भित्र सबैभन्दा पहिले गौतम बुद्धको मूर्तिसंग जम्का भेट हुन्छ ।

३१ मार्च २०११ अर्थात २०६७ साल चैत १७ गते साँझ त्यसरी अर्काको देशमा आफ्नो देशमा जन्मेका बुद्धको मुर्तिसंग टकाराउदा म झक्किए । एकछिन अक्क न बक्क भए । तर केही छिनमा आफूलाई सम्हालेर संगैका साथीलाई क्यामेरा दिएर मुर्तिसंग आफ्नो फोटो खिचिदिन आग्रह गरे । दुःखको कुरा श्रीलंका यात्राका प्राय सबै फोटोहरु मैले सुरक्षित राख्न सकिन ।

घुम्दै जाने क्रममा राजधानी कोलोम्बोका कैयौ ठाउँमा पनि बुद्धका मुर्तिहरु राखेको देखियो । नेपालको अन्तर्राष्ट्रिय विमानस्थल र मुख्य शहरमा पनि बुद्धका मूर्ति वा शालिक राखेर बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश राखिएको भए कस्तो राम्रो हुन्थ्यो होला भन्ने सोचे ।

हाम्रोमा बुद्धका बारेमा भएका संरचना बारे सम्झना खोज्दा लुम्बिनी र काठमाडौको स्वम्भुको मात्र मानसपटलमा आउछन् ।

श्रीलंकामा बुद्ध धर्मालम्वी छन् । क्याण्डी भन्ने ठाउँमा बुद्धको दाँत पनि राखिएको छ भन्ने चै पढे /सुनेको थिए । तर विमानस्थलको मुख्य टर्मिनलको शुरुवातमै बुद्धको मुर्ति देखेपछि बुद्ध बारे केही जान्ने मन लाग्यो । त्यसपछि श्रीलंकन भेट्ने वित्तिकै म नेपाली भनेर परिचय गर्न थाले ।

नेपाली भन्ने वित्तिकै उनीहरुको निक्कै फरक व्यवहार हुन्थ्यो । उनीहरुले नेपाललाई बुद्धका कारण चिन्ने रहेछन् । संसारका हिन्दुहरु पशुपति र मुक्तीनाथ र मुस्लिमहरु मक्कामदिना जान जति लालायित हुन्छन् त्यस्तै गरेर श्रीलंकनहरु पनि लुम्बिनी जानुलाई उत्तिकै महत्वपूर्ण ठान्दा रहेछन् ।

सार्क स्तरिय सरसफाई सम्मेलनले गर्दा म पहिलो पटक अन्तर्राष्ट्रिय यात्रामा थिए । समुद्र हेर्न पाउनु पनि मेरो लागि निक्कै ठूलो र सुखीको कुरा थियो । त्यसैले कोलोम्बोका तीन ठाउँबाट समुद्र हेरियो ।

जहाँ गए पनि मेरो जिज्ञासा बुद्ध बारे उनीहरुको धारणा बुझ्नु थियो । मैले कुरा गरेका प्रायः श्रीलंकनहरु लुम्विनी गएका रहेछन् । एक सरसफाई अभियन्ता (नाम सम्झनामा आएन) का अनुसार ७५ प्रतिशत श्रीलंकनहरु जीवनको कुनै न कुनै समयमा लुम्विनी पुग्ने गर्छन । श्रीलंकामा १५ हजार भिक्षुहरु र छ हजार बढी बुद्धका मुर्तिहरु रहेको अनुमान छ । त्यसमध्ये दमबुला भन्ने ठाउँमा त १५३ वटा मुर्ति रहेको बताइएको थियो ।

धेरै श्रीलंकनको जीवनको लक्ष्य भनेकै एकपटक बुद्ध जन्मस्थल लुम्विनी पुग्ने हुन्छ उनले बताएका थिए । नेपालबाट आएका र बुद्द धर्मालम्वीका मान्नेहरु बुद्धको दाँत भएको क्याण्डी पुग्दा रहेछन् । क्याण्डीमा बुद्धकोे दाँत बहुत ठूलो महत्वका साथ सुरक्षा दिएर राखिएको छ । तर पूर्वयोजना नहुँदा, कार्यक्रम र फर्किने हतारोका कारण हामी क्याण्डी जान सकेनौ । बुद्धले देशत्याग गरेपछि निकालिएको दाँत भारतबाट एक राजपरिवारको माध्यामबाट श्रीलंका लगिएको विश्वास छ ।

त्यहाँ पुगेपछि थाहा भयो श्रीलंकामा सबैभन्दा बढी मानिने धर्म नै बौद्ध धर्म रहेछ । म गएको नौ वर्ष अघि मात्रै होइन आजका दिनमा पनि श्रीलंकामा बौद्धधर्मालम्बीहरुको संख्या ७०.२ प्रतिशत छ । त्यसपछि हिन्दु धर्म मान्नेको संख्या १२.६ रहेको छ । भने मुस्लिम ९.७ र क्रिश्चियन ७.४ र अन्य ०.१ प्रतिशत छ ।

संसारका १९३ देशमा बुद्ध धर्म मान्ने गरिन्छ । प्रतिशतका हिसावले ती मध्ये सबैभन्दा बढी कम्बोडियामा ९६ प्रतिशत, थाइल्याण्डमा ९५ प्रतिशत, तिव्वतमा ६५ प्रतिशत,लाओसमा ६० प्रतिशत, भियतनाममा ५५ प्रतिशत, जापानमा ५५ प्रतिशतले बुद्ध धर्म मान्छन् । सिंगापुरमा र कोरिया जस्ता विकसित मुलुकमा क्रमश ३४ र २३ प्रतिशतले यो धर्म अगालेका छन् ।

उनको जन्मभूमि नेपालमा भने बुद्ध धर्म भनौ वा उनको विचारमा पूर्ण विश्वास गर्नेहरु झण्डै ११ प्रतिशत छन् । हुनत लुम्विनिमा पनि नेपालको तुलनामा राम्रा र धेरै बौद्ध विहार र गुम्वाहरु विदेशी मुलुकहरुले बनाएका छन् । नेपालमा पहिलो पटक बुद्धको नाममा ठूलो महत्व वोकेको अहिलेसम्मको ठूलो संरचना गौतम बुद्ध अन्तराष्टिय विमानस्थल भैरहवामा बनिरहेको छ ।

भारतीयहरु बुद्ध भारतमा जन्मेको झुटो तर्क गर्छन तर त्यही भारतमा बुद्ध धर्म मान्नेहरुको संख्या एक प्रतिशत पनि छैन । जवकी भृकृटी लगायतले प्रचार शुरु गरेको भनिएको तिव्वत सहितको समग्र चीनमा १५ प्रतिशत बढीले बुद्ध धर्म मान्छन् ।

मेरो बुझाईमा बुद्ध एउटा भौतिकवादी चिन्तक हुन । गोरखापत्रमा प्रदीप नेपालले बुद्धले पुर्नजन्म हुँदैन भनेको समेत लेखेका छन् । तर संसारभर उनलाई चिन्तककारुपमा भन्दा भगवानका रुपमा सम्झना गरिदा भने दुःख लाग्छ । गौतम बुद्ध आफै मुर्ति पूजाका विरोधी थिए तर उनैका मुर्ति संसारका धेरै ठाउँमा हिन्दु धर्मका भगवनाका मुर्ति झै सजाएर राखिएको छ ।

मैले माथि नै एक ठाउँमा शालिक शव्दको प्रयोग गरेको छु । शालिक शव्द लेख्नाको कारण भगवान होइन चिन्तककारुपमा बुद्धको शालिक राखौ भन्ने हो । त्यसैले उनलाई भगवान भन्दा भौतिकवादी चिन्तक मानेर उनले पत्ता लगाएको शान्तिको सन्देश संसारभर प्रवाह गरौ । हुन त नेपालमै उनको विचारका बारेमा हुनु पर्ने जति छलफल भएको छैन । तर पनि उनको विचार वा शान्तिको सन्देश संसारभर पुगाउन ढिलो भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार