भारतीय भूमिमा रहेकालाई स्वदेश ल्याउन मासमको आग्रह

धनगढी, वैशाख २१ गते । मानवअधिकार संरक्षण मञ्च सुदूरपश्चिम प्रदेश समितिले भारतीय सीमामा रहेका अरु नेपालीलाई पनि नेपाल ल्याउन सरकारसंग आग्रह गरेको छ ।
मञ्चका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष डिल्लीराज जोशीले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दे अहिलेसम्म नेपालीहरु भारतीय भूमि पलिया, टनकपुर, वनवासा ,लगायत भारतका विभिन्न स्थानमा महिनौसम्म दुखकष्ट सहेर बसेकोतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
विज्ञप्तीमा क्वारेन्टाइनमा बसिरहेका वा अलपत्र अवस्थामा रहेका सयौं नेपाली नागरिकहरुलाई यथासिघ्र देशभित्र ल्याएर मानबोचित व्यवहार सहित उचित व्यवस्था गर्न र सम्मानित सर्वोच्च अदालतको आदेशको तत्काल पालना गर्न समेत माग गरिएको छ ।
विज्ञप्तीमा फरक प्रसंगमा समेत चर्चा गरिएको छ । लकडाउनको अवधिमा मानव अधिकारसँग सम्बद्ध घटनाको अनुगमन गर्न प्रदेश तथा जिल्लामा मानव अधिकार आयोगले गठन गर्ने भनेको समन्वय समितिको गठन प्रकृया,संरचना पक्षपातपूर्ण र संवैधानिक आयोगको मर्म विपरित रहेको आरोप सो विज्ञप्तीमा लगाइएको छ ।
चिनजान तथा राजनीतिक आस्था र आग्रहमा समितिमा पदपूर्ति गरिएको र मानव अधिकारको क्षेत्रमा क्रियाशिल अधिकारमुखी ख संघसस्थाप्रति पक्षपातपूर्ण ढंगले दुराग्रह राखेर समन्वय समितिमा प्रतिनिधित्व नगराएकोेप्रति गम्भीर ध्यानकर्षण हुनुको साथै सो कार्यप्रति आपत्ति प्रकट गरिएको विज्ञप्तीमा उल्लेख छ ।
आयोगलाई सरकारी,व्यक्तिगत तथा राजनीतिक प्रभावमा नपरेर संबैधानिक आयोगको मर्म र मर्यादाभित्र रहेर पूर्वाग्रह नराखी सामाजिक जीवनका सबै पक्षको साझा आयोग बन्न पनि मासमका अध्यक्ष जोशीद्धारा जारी विज्ञप्तीमा अपिल गरिएको छ ।