१० श्रावण २०८१, बिहीबार

वन प्राविधिकले गरे विमा, आवास, फिल्ड ड्रेस र फिल्ड गियरको माग



-सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टद्धारा संघले उठाएका मागमा आफू सकरात्मक रहेको प्रतिक्रिया ।
– मन्त्री भट्टले भनिन् आवश्यक अध्ययन गरेर माग पुरा गर्ने प्रयास गर्नेछु ।

धनगढी, बैशाख १४ गते । प्रगतिशिल वन प्राविधिक संघ नेपाल सुदूरपश्चिम प्रदेशले वनका प्राविधिक कर्मचारीहरूको स्वास्थ्य र विमा गरिनु पर्ने माग गरेको छ ।

संघले आइतबार सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टलाई तीन बुँदे ध्यानाकर्षण तथा माग पत्र बुझाउदै सो गरेको हो ।

संघका प्रदेश अध्यक्ष भोजराज पाठकका अनुसार तीन बुँदे ध्यानाकर्षण तथा माग पत्रमा विशेष विमाको व्यवस्था, आवास सहितका फिल्डस्तरिय कार्यालयहरूको निर्माण र फिल्ड ड्रेस तथा फिल्ड गियरको व्यवस्था गर्न माग गरिएको छ ।

वनको सुरक्षा तथा ब्यवस्थापनमा खटिएका कर्मचारीहरूले विभिन्न तस्करहरू, उछ्रिङखल तत्वहरू, वन्यजन्तुहरू , असहज भूगोल तथा विषम परिस्थितिहरूको सामना गरिरहनु पर्ने अवस्था रहेकोले अन्य कर्मचारी भन्दा थप विशेष विमाको ब्यवस्था गर्नु पर्ने माग पहिलो वुँदामा उल्लेख छ ।

यस्तै गरेर थुप्रै सवडिभिजन वन कार्यालयहरू भाडाको भवनमा रहेको वा जिर्ण अवस्थाको भवनमा रहेकोले कार्य प्रकृतिका कारण प्रवावकारी सेवा प्रवाह गर्न फिल्डमा खटिएका कर्मचारीहरू संगसंगै बस्नु पर्ने अवस्था रहेकोले फिल्ड कार्यालयमा खटिएका सम्पूर्ण कर्मचारीहरू अटाउने आवास सहितको फिल्ड कार्यालय निर्माण गरिनु पर्ने माग पनि गरिएको छ ।

तीन बुँदे ध्यानाकर्षण तथा माग पत्रको अन्तिमा मागमा फिल्डमा खटिएका कर्मचारीहरूलाई छुट्टै पहिचान दिएर निजहरूको मनोबल बढाउन र वन कर्मचारीहरूबीच फिल्डमा खटिदा समेत एकरूपता कायम गर्न विश्वका अन्य मुलुकमा समेत वन कर्मचारीलाई छुट्टै ड्रेसकोड दिने गरेको पाइएकोले अन्य निजामति कर्मचारीलाई प्रदान गरिने कार्यालय पोशाकका अलावा फिल्डमा खटिएका कर्मचारीहरूलाई कार्य प्रकृति सुँहाउँदो ड्रेस कोड निर्धारण गरेर फिल्ड फिल्ड गियर सेट उपलब्ध गराउनु पर्ने उल्लेख छ ।

अध्यक्ष पाठकका अनुसार मन्त्री भट्टले संघले उठाएका मागमा आफू सकरात्मक रहेको बताउदै आवश्यक अध्ययन गरेर माग पुरा गर्ने प्रयास गर्ने प्रतिवद्धता गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार