१० श्रावण २०८१, बिहीबार

कोरोना रोकथामका लागि जुट्दै सहयोगी हातहरू



धनगढी । कोरोना संक्रमणको जोखिमबाट जोगिन धनगढीमा संघसंस्था र व्यवसायीले स्वःस्फूर्त ढंगले स्थानीय प्रशासनलाई सहयोग गर्न थालेका छन् ।
मास्क र हात धुने व्यवस्था नभएका कारण संक्रमण फैलिने जोखिम बढेको समाचार बाहिर आएपछि धनगढीका सामाजिक संघसंस्था र व्यवसायीले मास्क, बाल्टी, जग र साबुन प्रशासनलाई प्रदान गरेका छन् ।
राठी ईन्टरप्राईजेज धनगढीका सञ्चालक सुरेन्द्र राठीले शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई तीन सय थान मास्क प्रदान गरे ।
त्यस्तै, कैलाली हार्डवेयर संघले ५० थान प्लाष्टिकको बाल्टी र जग तथा साबुन प्रदान गरेको छ ।
त्यस्तै, सेसी र ग्राम विकास तथा अनुसन्धान केन्द्रका तर्फबाट प्रदेश संयोजक महेन्द्रबहादुर शाही र जिल्ला कार्यक्रम संयोजक ठाकुर करियाप्रधानले प्रमुख जिल्ला अधिकारी बोहरालाई ५० थान प्लाष्टिक बाल्ट, जग र साबुन प्रदान गरे ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा भेला भएका व्यवसायीहरूले आ–आफनो तर्फबाट कोरोना भाइरस रोकथामका लागि सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । सो अवसरमा उद्योगपति तथा समाजसेवी श्याम तायलले पा“च सय थान मास्क प्रदान गर्ने बताए ।
उद्योगपति तायलले कोरोना रोकथामका लागि स्थानीय प्रशासन तथा सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता गर्दै बिरामीको उपचारमा संलग्न चिकित्सक तथा उद्दार तथा सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको अवस्था जोखिमपूर्ण भएकोले चिकित्सकहरूलाई एप्रोन, ग्लोव्स एवं मास्क र सुरक्षाकर्मीलाई मास्क उपलब्ध गराउन तयार रहेको बताए ।
त्यस्तै रोटरी क्लव अफ धनगढीका अध्यक्ष हरीशंकर ठाकुरले पा“च सय मास्क उपलब्ध गराउने बताएका छन् ।
सार्वजनिक स्थल तथा सेवाग्राहीको भीडभाड सार्वजनिक निकायमा कोरोनाको संक्रमण फैलिने जोखिम अत्याधिक हुने भएकोले ती स्थानमा प्रवेश गर्ने हरेक व्यक्तिलाई सावुन पानीले हात धुने व्यवस्था गर्न शुक्रवार धनगढीका व्यवसायी र सामाजिक संघसंस्थाले जिल्ला प्रशासन कार्यालय कैलालीलाई प्लाष्टिकको बाल्टी, जग र साबुन हस्तान्तरण गरे ।
त्यस्तै सीमा नाकामा खटिने सुरक्षाकर्मी र जोखिममा रहेका व्यक्तिहरूको सुरक्षाका लागि प्रशासनलाई मास्क प्रदान गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले व्यवसायी तथा संघसंस्थाहरूले स्वःस्र्फुत ढंगले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
प्रजिअ बोहराले सरकारी प्रयासबाट मात्र कोरोनाको जोखिमबाट जोगिन नसकिने भएको सबैको सहयोग र सतर्कता आवश्यक भएको बताए ।
बैंकमा सेवा लिन आउनेलाई मास्क
कृषि विकास बैंक, धनगढी शाखा कार्यालयले बैंकमा आउने सेवाग्राहीलाई निःशुल्क रुपमा मास्क वितरण शुरु गरेको छ ।
बैंकका क्षेत्रीय निर्देशक गोकुलप्रसाद पनेरुले सेवाग्राहीलाई मास्क वितरण गरेर सो सेवाको आरम्भ गरे ।
कोरोना भाइरसको सन्त्रास फैलिएसंगै बैंकमा आउने सेवाग्राहीलाई निःशूल्क रुपमा मास्क वितरण गर्ने बैंकका धनगढी शाखा प्रबन्धक जगदिशप्रसाद पन्तले बताए । उनले बैंकमा आउने हरेक सेवाग्राहीलाई अनिवार्य रुपमा मास्क लगाएर मात्र आउन आग्रह गरे । उनका अनुसार सो बैंकबाट दैनिक पा“च सय बढीले सेवा लि“दै आएका छन् ।
त्यस्तै, विश्वभर फैलिएको कोराना भाइरसको सचेतनाका लागि धनगढीको मेरो रोजाई अनलाइन सपले १० रुपैयामा मास्क र हातधुने सावुन विक्री गर्ने घोषणा गरेको छ ।
संस्थाका प्रवन्ध निर्देशक केशव जोशीले धनगढीमा फ्री होमडेलिभरी हुने व्यवस्था समेत रहेको बताए । उनका अनुसार यो अफर पा“च सय जनाको लागि मात्र हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार