१० श्रावण २०८१, बिहीबार

भण्डारी दम्पत्तिकाे छोराबाटै हत्या भएको खुलासा



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरका ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या उनीहरूकै छोराबाट भएको खुलेको छ ।
कञ्चनपुर प्रहरीले आइतबार भण्डारी दम्पतीको हत्यामा संलग्न भएको आरोपमा उनीहरूको छोरा भरतलाई पक्राउ गरेको छ ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द मरासिनीले भरतलाई पक्राउ गरिएको पुष्टि गरे । एसपी मरासिनीले भने– हामीले भरतलाई डडेल्धुराबाट पक्राउ गरेका छौं । उनले आफूले बाबुआमाको हत्या गरेको स्वीकार गरिसकेको अवस्था छ ।
भण्डारी दम्पत्ति गत फागुन १५ गते घरमै मृत भेटिएका थिए ।

हेडफोनले खोल्यो हत्याको रहस्य

घटनास्थलबाट प्रहरीले मोबाइलको हेडफोन बरामद गरेको थियो । उक्त हेडफोनलाई महत्वपूर्ण ‘क्लु’ मानेर अनुसन्धान गरेको प्रहरीले त्यही हेडफोनमार्फत् हत्यामा संलग्न भरत पक्राउ परेको बताइएको छ ।
अनुसन्धानका क्रममा सो हेडफोन र भरतले बोक्ने मोबाइल एउटै कम्पनीको रहेको पाइएपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।
एसपी मरासिनीका अनुसार भरत डडेल्धुरामा बस्दै आएका थिए । उनी फागनु १३ गते डडेल्धुराबाट मोटरसाइकल चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिन भन्दै महेन्द्रनगर आएका थिए ।
फागुन १४ गते दिउ“सो २ बजेतिर भरत महेन्द्रनगरबाट डडेल्धुरा जाने भन्दै फर्किएका थिए । तर उनी अत्तरिया गएर बसे । राति ८ बजेतिर अत्तरियाबाट बाबुको घर झलारी आएर भरतले बाबुआमाको हत्या गरेको अनुसन्धानमा खटिएका मरासिनीले बताए ।
‘पहिला भान्सामा रहेकी आमाको हत्या गरेको देखिन्छ । त्यसपछि बाबुको हत्या गरेर उनी फरार भएको पाइयो,’ एसपी मरासिनीले भने ।
हत्या गरेर उनी आफू बस्दै आएको डडेल्धुरा नै फर्किएका थिए । त्यसपछि प्रहरीले थाहा पाउने डरले उनले आफूले लगाएको कपडासमेत जलाएको अनुसन्धानबाट खुलेको छ ।

हत्याको कारण पारिवारिक

जयलालकी पहिलो श्रीमतीको क्यान्सर रोगका कारण तीन वर्षअघि मृत्यु भएको थियो । हत्या गरिएकी धना जयलालकी कान्छी श्रीमती हुन् । पहिलो श्रीमतीतर्फका दुई छोरा छन् । जयलालले अर्को श्रीमती ल्याएपछि छोरा भरतसंग उनको राम्रो सम्बन्ध थिएन ।
घरायसी कुरामा विवाद हु“दा जयलालले जेठा छोरो भरतलाई खुकुरीले समेत हानेका थिए । त्यसपछि भरतले बाबुविरुद्ध ज्यान मार्ने उद्योगमा समेत प्रहरीमा उजुरी दिएका थिए । सो घटनामा उनी २८ दिन प्रहरी हिरासत बसेर छुटेका थिए ।
त्यसपछि छोरा भरत बाबु जयलालस“ग नबसेर भिन्दै बस्दै आएका थिए । राम्रो सम्बन्ध नहुनु र जयलालले खुकुरीले समेत हान्नु र आशंका बारेमा पटकपटक विवाद हु“दा भरतले बाबुआमाको हत्या गरेको पाइएको एसपी मरासिनीले जानकारी दिए ।

६ महिने शिशु घाइते

बाबुआमाको हत्या गरेका भरतले आफनै बहिनी ६ महिने ममतालाई समेत घाइते बनाएका थिए । गम्भीर घाइते शिशुलाई मावली पक्षले कैलालीस्थित माया मेट्रो अस्पताल उपचार गराएका थिए ।
शिशुको उपचारमा संलग्न बाल रोग विशेषज्ञ डाक्टर मोहन साउदका अनुसार उनलाई निमोनिया र टाउकोमा चोट लागेको थियो । सिटीस्क्यान रिपोर्टले शिशुको टाउकोमा गम्भीर चोट लागेका देखाएको थियो ।
चोटले मस्तिकमा पनि असर परेको छ । छातीमा निमोनियाको संक्रमण भएको थियो । अहिले शिशुको अवस्था सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार