१० श्रावण २०८१, बिहीबार

विकास निर्माणका काममा जनताको खबरदारी आवश्यकः मन्त्री सुवेदी



जोरायल(डोटी) । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले विकास निर्माणका काममा जनताले खबरदारी गर्नुपर्ने बताएका छन् ।
जोरायल गाउँपालिकाद्धारा आयोजित दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा जनताको खबरदारी नभए प्रभावकारी नहुने बताए ।
आफ्नो गाउँ–ठाउँमा विकास निर्माणका काम के कसरी भइरहेका छन् भनेर जनताले अनुगमन गरी त्यसको जानकारी स्थानीय तहका जनप्रतिनिधिलाई दिनुपर्ने मन्त्री सुवेदीले बताए ।
जनताले स्थानीय, प्रदेश र संघबाट आएका योजनाहरुको अनुगमन, मूल्यांकन प्रभावकारी रुपमा गरी विकास निर्माणका काममा सघाउनुपर्ने उनको भनाइ थियो । उनले सुदूरपश्चिम प्रदेशलाई सम्बृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

समग्र सुदूरपश्चिमको विकासका लागि आफू सदैव लागिपर्ने बताउँदै मन्त्री सुवेदीले छाउपढी, जातीय छुवाछुत जस्ता रुढीवादी परम्पराको अन्त्य गर्न सबै लाग्नुपर्ने बताए । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन लाग्नुपर्ने बताउँदै उनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको बताए ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले पालिकाको विकासका लागि योजनावद्ध रुपमा अघि बढेको बताए । गाउँपालिकाको विकासका लागि आवश्यक गुरुयोजना बनाई अघि बढिरहेको उनले बताए । गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले स्वागत गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गाउँपालिका स्त्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ११ वटा विद्यालयको सहभागीता रहेको छ । कार्यक्रम तीन दिनसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार