२१ बैशाख २०८१, शुक्रबार

सार्वभौमिकताको रक्षा गर्नु सरकारको दायित्व हो : पर्यटनमन्त्री भट्टराई



टीकापुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सरकार कुनैपनि मित्रराष्ट्रसँग सहयोगको हात बढाउन तयार रहेको बताए ।
सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७६ को मंगलवार उद्घाटन गर्दैै मन्त्री भट्टराईले घुमाउरो शैलीमा सरकार अमेरीकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउन तयार रहेको बताए ।
उनले भावनात्मक रुपमा सरकारले अघि सारेका कुनैपनि योजना प्रति नकारात्मक टिप्पणी नगर्न आग्रह गरे । ‘साथीहरु भावनामा बहकिनु हुन्छ । त्यसरी नरात्मक भ्रम नफैलाउन आग्रह गर्छु’ उनले भने, ‘राष्ट्र, जनता र सार्वभौमिकताको रक्षा गर्नु सरकारको दायित्व हो । यो कुरामा सरकार स्पष्ट छ ।’
उनले सरकार सबै राजनीतिक दलहरुसँग हातेमालो गरेर अघि बढिरहेको बताउँदै सबैको सहकार्यले मात्रै परिवर्तन सम्भव हुने बताए । उनले काँग्रेस र कम्युनिष्टबीचको सहकार्यले नै अहिलेको परिवर्तन सम्भव भएको बताए ।
उनले संविधान भन्दा बाहिर रहेका समूहद्वारा बेलाबखतमा अशान्तिका संकेतहरु देखिने गरेको बताउँदै नेपाललाई प्रयोगशाला नबनाउन आग्रह गरे । उनले संविधान भित्रै रहेर देश र जनताको हकअधिकारका लागि लड्न सकिने बताए ।
‘हामी बेलाबखत अशान्तिका संकेत देख्छौं । यसले देश र जनताको पक्षमा हित गर्दैन’ उनले भने–‘संविधान भित्र रहेर स्वस्थ प्रतिस्पर्धा गरौं । जित्ने र हार्ने सामान्य कुरा हो ।’
उनले टीकापुर घटना राजनीतिक उद्देश्य प्राप्तिका लागि भएपनि गलत तत्वले खेलेको हुनसक्ने बताए । उनले विगतका सबै तिता कुराहरु बिर्सेर मुलुकलाई नयाँ दिशातर्फ अग्रसर बनाईनुपर्नेमा जोड दिए ।
‘विगतका तिता कुरा बिर्सनुपर्ने बेला आएको छ’ उनले भने, ‘परिवर्तनका लागि ज्यान गुमाउनेका परिवारलाई पीडा होला । सरकार पीडित परिवारको भावना प्रति संवेदनशील छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार