५ जेष्ठ २०८१, शनिबार

अग्नि सापकोटा सभामुख हुन बानेश्वर जालान् कि, जवाफ दिन अदालत ?




काठमाडौंः सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुख चयन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई १२ गते हाजिर हुन भनेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पेशी तोक्दै सर्वोच्च अदालतले सापकोटासहित विपक्षी बनाइएका व्यक्ति तथा निकाय र रिट निवेदकलाई समेत तारेखका लागि हाजिर हुन भनेको हो । वरिष्ठ अधिवक्ता त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दै द्वन्द्वकालीन घटनामा कर्तब्य ज्यानको मुद्दा खेपिरहेका व्यक्ति (सापकोटा)लाई सभामुख चयन नगर्नका लागि आदेश माग गरेका छन् । सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि त्रिपाठीले मागदाबी गरेका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद सचिवालय, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित अग्नि सापकोटा, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । प्रतिनिधिसभाको सभामुख चयनका लागि शुरु भइसकेको निर्वाचन प्रक्रियाअन्तर्गत (नेकपा) नेता सापकोटाको एकल उम्मेदवारी परेको छ । माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा गर्ने कार्यसूची छ । अदालतले पनि सापकोटालाई १२ गते नै अदालतमा हाजिर हुन भनेको हो । सापकोटाविरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । १७ वैशाख २०६२ मा ‘माओवादी कार्यकताको अपहरणमा परेका’ भनिएका लामाको २ महिना पछि काभ्रेकै बुढाखानीको चारकिल्ला भन्ने ठाउँमा शव फेला परेको थियो । लामाकी श्रीमती पूर्णमाया लामाले ७ मंसिर २०६९ मा सापकोटा सहितका माओवादी नेता कार्यकता विरुद्ध मुद्दा दायर गरेकी थिइन् । सो सम्बन्धी मुद्दा अहिले पनि सर्वोच्च अदालतमै विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार