२ जेष्ठ २०८१, बुधबार

उखुखेती किसानको समस्या लगभग समाधान भइसक्यो– मन्त्री भट्ट



डडेल्धुरा/ संघीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पाँच वर्षदेखि उखु किसानहरूले भोगिरहेका समस्या अहिले ९० प्रतिशत समाधान भइसकेको दाबी गरेका छन् ।
बिहीबार डडेल्धुरामा पत्रकारहरूसंगको संक्षिप्त कुराकानीका क्रममा मन्त्री भट्टले भने– चारपाँच वर्षदेखि “क्रोनिक” बनेको उखु किसानको समस्या अहिले आएर ८०–९० प्रतिशत समाधान भइरहेको छ । मन्त्री भट्टले सरकारले उखुको प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ समर्थन निर्धारण गरिसकेको बताए ।
मन्त्री भट्टले देशभरीका उखु किसानलाई एक अर्ब नौ करोड रुपैयाँ तिर्न बाँकी रहेकामा अर्थ मन्त्रालयले ७१ करोड रुपैया निकासा गरिसकेको बताए । उनले थप ३८ करोड रुपैया“का लागि उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई परिपत्र गरिसकेको बताए ।
मन्त्री भट्टले भने– पूर्वी नेपालका चिनी मिलमध्ये रौतहट जिल्लाको श्रीराम सुगर मिलले आफनो सम्पती बिक्री गरेर किसान तथा बैंकको ऋण तिर्ने गरि योजना मन्त्रालयलाई पठाइसकेको जानकारी गराए ।
मन्त्री भट्टका अनुसार महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडियाले ११ करोड ५० लाख रुपैया भुक्तानी दिइसकेको र अझैं सात करोड रुपैया तिर्न बा“की रहेको छ ।
मन्त्री भट्टले उखु किसानको रकम बक्यौता बाँकी राखेका अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिसकेको बताए ।
संघीय उद्योग मन्त्रालयका अनुसार अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ भने लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ र इन्दिरा चिनी उद्योगले ११ करोड २२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार