२३ बैशाख २०८१, आईतवार

प्रदेश सभा स्थापना दिवस मनाइयो



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको तेस्रो स्थापना दिवस मंगलबार धनगढीमा मनाइएको छ । सुदूरपश्चिम प्रदेश सभा २०७४ साल माघ ७ गते स्थापना भएको थियो ।
स्थापना दिवस कार्यक्रमको सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले एक समारोहबीच उद्घाटन गरिन् । स्थापना दिवसको अवसरमा प्रदेश सभाले स्थापना कालदेखि कार्यरत तीन जना कर्मचारीलाई जनही १० हजार रुपैया सहित पुरस्कृत गरिएको छ ।
सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभा संघीयता कार्यान्वयन गर्ने सवालमा प्रदेश सभा प्रभावकारी भइरहेको बताए । उनले प्रदेश सभाले जनताका आवाज र भावनाको सम्बोधन गरिरहेको चर्चा गरे ।
प्रदेश सरकारका आर्थिक ममिला तथा योजना मन्त्री झपटबहादुर वोहराले सीमित स्रोत र साधनका बाबजुट पनि प्रदेश सरकारले समान रुपमा विकासका लागि बजेटको व्यवस्था गरी कार्यान्वयनमा ल्याएको बताए ।
सो अवसरमा सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले दुई वर्षको अवधिमा प्रदेश सभाले बनाएका ऐन कानूनहरूको परिपालना भए नभएको विषयमा समिक्षा गर्न जरुरी रहेको बताए । उनले आउने वर्षहरूमा जनतसंग प्रत्यक्ष सरोकार राख्ने कानुनहरू बनाउन प्रदेश सभा सफल हुनेमा शुभकामना व्यक्त गरे ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले प्रदेश सरकारले प्रदेश सभालाई अपेक्षित रुपमा सदुपयोग गर्न नसकेको टिप्पणी गरे । उनले अवका दिनमा कमीकमजोरीहरूलाई हटाउदै अगाडि बढ्न शुभकामना व्यक्त गरे ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेश सांसद् कृष्णबहादुर चौधरीले दुई वर्षमा ३२ वटा कानून निर्माण गरिएको भए पनि कार्यान्वयन नभएको टिप्पणी गरे । उनले विकासका लागि पछि हट्ने कुनै बहाना नभएपनि प्रदेश सरकारले विकासलाई गति दिन नसकेको आरोप लगाए । उनले बाँकी रहेका दिनमा जनताको पक्षमा काम नगरे जनताले आफूहरूलाई लखट्ने भन्दै तिब्र गतिमा काम गर्न शुभकामना व्यक्त गरे ।
कार्यक्रममा शिक्षाविद् प्राध्यापक डाक्टर हेमराज पन्तले संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत रुपमा स्थापित हुदै गएको र अवको मुख्य गन्तव्य सेवा र विकासको डेलिभरी रहेको बताए ।
उनले सुदूरपश्चिम प्रदेश विगतदेखि सबै सूचकहरूमा पछि पारिएको बताउदै गरीवि नै प्रमुख चूनौति रहेको बताए । उनले अवका दिनमा जनताले सेवा र विकास पाए कि पाएनन् भनेर हेर्ने काम प्रदेश सभाको रहेको बताए । उनले सेवा र विकास नपाएका जनतालाई सेवा र विकास दिन प्रदेश सरकारलाई प्रदेश सभाले नै खबरदारी गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार