१० श्रावण २०८१, बिहीबार

नेपाल चिकित्सक संघको निर्वाचन, मतदान शुरु



धनगढी/ नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा रहेको चिकित्सक संघको भवनमा शनिबारदेखि मतदान शुरु भएको छ ।
उपत्यका बाहिरका १६ वटा शाखा कार्यालय मार्फत २८ औं केन्द्रिय कार्यकारीणी समितिका लागि चुनाव हुँदैछ ।
माघ ४ र ५ गते दुई दिन हुने चुनावको पहिलो दिन चिकित्सक संघको भवनमा डाक्टर गणेशदत्त भट्टले पहिलो मतदान गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लाको मतदान केन्द्र चिकित्सक संघको सभाहलमा तोकिएको छ । प्रदेशबाट एक सय दुई जना मतदाता रहेकोमा शनिबार साँझसम्म ५८ जनाले मतदान गरेको सहायक मतदान अधिकृत डाक्टर जगदिश जोशीले जानकारी दिए ।
शनिबार विहान ११ बजेदेखि शुरु भएको मतदानको समय ४ बजेसम्म रहेको थियो । उनका अनुसार आईतबार पुनः ११ बजेदेखि ४ बजेसम्म मतदान समय रहेको छ । चिकित्सक संघको नयाँ कार्यसमितिका चयनका लागि उपत्यकाभित्र भने माघ १७ देखि २१ गतेसम्म हुने छ ।
संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन् ।
नयाँ कार्यसमितिका लोकतान्त्रिक समुहवाट डाक्टर लोचन कार्कीको टिम र समावेशी पेशागत समुहवाट डाक्टर पुष्पमणि खरालको टोली प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिव प्रसाद श्रेष्ठबीच मतदान हुनेछ ।
उपाध्यक्षमा अनिलविक्रम कार्की र रञ्जितकुमार झाका विचमा प्रतिस्पर्धा छ । रञ्जितकुमार झा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत छन् । महासचिवका लागि अजय कुमार मिश्र, बद्री रिजाल, दीपेन्द्र पाण्डे र मधुर बस्नेत गरी चार जना चिकित्सक बीच प्रतिस्पर्धा छ । महासचिवमा मिश्र र पाण्डे स्वतन्त्र उम्मेदवार हुन् भने रिजाल लोकतान्त्रिक र बस्नेत समावेशी पेशागत समूहका हुन् ।
कोषाध्यक्षमा लोकतान्त्रिकका डाक्टर प्रकाश बुढाथोकी र समावेशी पेशागत समूहका सञ्जित कुमार साह, सहसचिवमा लोकतान्त्रिक समूहबाट निरजकुमार सिंह र समावेशी समूहबाट सैलेन्द्र झा र सहकोषाध्यक्षमा लोकातान्त्रकका विश्वाराज दवाडी र समावेशी समूहका उदयनारायण सिंह मैदानमा छन् ।
सदस्यहरूमा लोकतान्त्रिक समूहबाट विक्रान्त ढकाल, विपेश आचार्य, नन्दकुमारी गुरुङ, प्रमोद जोशी, रितेश थापा र सञ्जिव तिवारी, समावेशी समूहबाट सदस्यहरूमा दिपकप्रसाद कोइराला, जगदिशचन्द्र विष्ट, लिजन महर्जन, राकेश कुमार साह, सुमान काफले, त्रिभुवन चन्द्र झा तथा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार