२० बैशाख २०८१, बिहीबार

भादागाउँमा पर्यटन होर्डिङ बोर्ड राखियो



धनगढी/ धनगढीको भादागाउँ होमस्टेमा पर्यटन प्रवद्र्धनका लागि होर्डिङ बोर्ड राखिएको छ । नेपाल भ्रमण वर्ष, २०२० का शिलशिलामा धनगढी लेडी जेसिजद्वारा थारुगाउँ होमस्टे जाने वाटोमा होर्डिङ बोर्ड राखिएको छ ।
धनगढी लेडी जेसिजका अध्यक्ष लक्ष्मी शाहीले धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको भादागाउँमा सुदुरपश्चिम प्रदेशको पर्यटकीय स्थल झल्किने होर्डिङ बोर्ड राखिएको बताइन् ।
सो अवसरमा वडा नम्बर १६ का वडाध्यक्ष लक्ष्मीनारायण चौधरीले होर्डिङ बोेर्डको उद्घाटन गरे । कोइलही ताल, बेहडावावा र होमस्टे जाने बाटोमा होर्डिङ बोर्ड राखिएको छ । होर्डिङ बोर्ड राख्ने कार्यक्रममा धनगढी लेडी जेसिज र धनगढी जेसिजका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

भादा होमस्टेको आकर्षण
भादागाउँमा थारू समुदायको परम्परागत जीवनशैलीको अवलोकन गर्न सकिन्छ । पर्यटकहरूका लागि तयार गरिएका घर परम्परागत ढंगले निर्माण गरिएका छन् । चारैतिर जंगलले घेरिएको भादागाउँ आकर्षक छ । गाउँ नजिकै जोगिन्या ताल तथा पाँच किलोमिटरको दूरीमा बेहडाबाबा मन्दिर र गणेश सामुदायिक वन पर्यटकका लागि आकर्षक स्थान मानिन्छन् । पर्यटकलाई घुमाउन दुई वटा लहरु अथवा गोरूगाडाको व्यवस्था गरिएको छ । लहरूमा एक पटक चार जनासम्म बस्न मिल्छ । पर्यटकलाई गाउँ घुमाउन गाइडको समेत व्यवस्था गरिएको छ । त्यस्तै, पर्यटकलाई नाचगान देखाउन सांस्कृतिक टोली राखिएको छ ।

भादा कसरी पुग्ने ?
भादा जानका लागि थुप्रै मार्ग छन् । पूर्व–पश्चिम राजमार्गको दुई ठाउबाट भादागाउं पुग्न सकिन्छ । चौमालाको झिल र राजीपुरबाट भादागाउ पुग्ने सडक छन् । झिलबाट बेहडाबाबा हुदै सात किलोमिटरको यात्रापछि भादागाउ पुगिन्छ । त्यस्तै, राजीपुरबाट भादागाउ पुग्न १२ किलोमिटरको यात्रा तय गर्नुपर्छ ।
त्यस्तै, सदरमुकाम धनगढीबाट भादा पुग्ने तीन सडक छन् । धनगढीको क्याम्पस रोडबाट पूर्व मोतीचोकबाट बायाँ हुँदै जाने बाटोको दूरी १५ किलोमिटर छ । मोतीचोकबाट बायाँ केही जंगल पार गरेपछि पटेला गाउँ हुदै खुटिया पार गर्न काठेपुल बनाइएको छ । खुटिया नदीपछि शिवगंगा नदीमा पनि काठेपुल छ । त्यसपछि सुरू हुन्छ जंगल क्षेत्र, जहाँ थुप्रै बाटा छन् । हरेक दुई वटा बाटो आउने बित्तिकै दाहिने बाटो समात्नुपर्छ । दाहिने बाटो समात्दै अघि बढेपछि तिलकपुरुवा गाउँ पुगिन्छ । त्यसको केही मिनेटमै आउने एउटा अर्को पुल तरेपछि गन्तव्य स्थल भादागाउ पुगिन्छ ।
अर्को क्याम्पस रोडबाट सोझै फूलबारी जाने बाटो छ । खुटिया नदी पार गरेपछि बायातर्फको बाटो समात्नुपर्छ । यो १७ किलोमिटर टाढा छ । यहाबाट उर्मा हुदै भादा पुगिन्छ । अर्को सबैभन्दा लामो बाटो २५ किलोमिटरको छ, जुन जोखर तालबाट पथरी हुदै बेहडाबाबा मन्दिरसम्म पुग्छ ।

साधन के प्रयोग गर्ने ?
भादा गाउँ जान कुनै पनि सार्वजनिक यातायातको साधन छैन । जुन बाटोबाट जाँदा पनि आफैंले व्यवस्था गरेको सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ । सबैभन्दा उपयुक्त साधन मोटरसाइकल या साइकल नै हुन् । चारपांग्रे साधन पनि लैजान सकिन्छ । त्यसो त स्थानीय बासिन्दाले पर्यटकका लागि लहरूको व्यवस्था गरेका छन् । त्यसमा यात्रा ढिलो हुन्छ तर लहरूमा बसेर चारैतिर अवलोकन गर्दै जानुको मजा नै बेग्लै छ ।

एक रातमा कति जना बस्न सक्छन् ?
२०६८ सालमा स्थापना भएको होमस्टेमा पर्यटकका लागि गाउँमा १९ ओटा घर निर्माण भएका छन् । जसमा एक रातमा ५७ जनासम्म सुत्न सक्ने व्यवस्था छ । आन्तरिक र बाह्य गरी ५० हजार पर्यटकको आगमन भइसकेको होमस्टेका अध्यक्ष लक्ष्मीनारायण र्चाधरी बताउछन् । नवनिर्मित घरमा ओढ्ने ओछ्याउनेदेखि सबै कुरा नयाँ नै व्यवस्था गरिएको छ । पर्यटककै लागि भनेर शौचालय र स्नान घर छुट्टै तयार छन् । खानेपानी र बिजुलीको समेत व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार