१० श्रावण २०८१, बिहीबार

विभिन्न समुदायका संस्कृति प्रदेशको धरोहर–मुख्यमन्त्री भट्ट



हसुलिया, कैलारी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न समुदायका संस्कृति प्रदेशको धरोहर रहेको बताएका छन् । मुख्यमन्त्री भट्टले सबै संस्कृतिको अन्तरघुलनले प्रदेशको समृद्धि गर्न सकिने बताए ।
“तराईं र पहाडका विभिन्न समुदायका संस्कृतिलाई एकापसमा अन्तरघुलन गरेर सुदूरपश्चिम प्रदेशको समृद्धि गर्न सकिन्छ” कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा बिहीबार सांस्कृतिक प्रदर्शनी कार्यक्रमको उद्घाटनका अवसरमा मुख्यमन्त्री भट्टले भने– हाम्रो प्रदेशका प्रत्येक समुदायका संस्कृति हाम्रा धरोहर हुन् ।
मुख्यमन्त्री भट्टले प्रत्येक समुदायको पहिचान समृद्धिसंग जोडिएको बताए । उनले भने– थारु समुदायका मौलिक कला, संस्कृति, भेषभूषा, रहनसहनका आधारमा हजारौं पर्यटक भित्राउन सकिने छ ।
मुख्यमन्त्रीले भाषा, कला, संस्कृति समुदायको पहिचान रहेकाले यसको संरक्षण राज्यको दायित्व रहेको बताए । उनले भने– सुदूरपश्चिम प्रदेश विभिन्न फूलको फूलबारी हो । यो फूलबारीमा भएका विभिन्न बास्नादार फूलको बास्नाले यो प्रदेशलाई सधैं मनमोहक बनाइरहेको छ ।
उनले प्रदेशको समृद्धिका लागि पर्यटन उद्योगको विस्तार गरिने बताए । उनले भने– प्रदेशमा पर्यटनको ठूलो सम्भावना छ, तर पूर्वाधार निर्माणमा कमी भएको छ ।
एकअर्को प्रसंगमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएको दोहोराए । उनले कृषिलाई सम्मान गर्न सके मात्रै माटोमा रमाउने कृषकको सम्मान हुने चर्चा गरे । भने– पहिले माटोलाई माया गरौं, माटोमा रमाउने किसानलाई माया गरौं । अनिमात्र कृषिको विकास गर्न सकिन्छ ।
उनले प्रदेश सरकारले किसानहरूलाई एकै ठाउ“बाट कृषि सम्बन्धी सबै सेवा प्रवाह गर्न एकीकृत कृषि कार्यक्रम सञ्चालन गरिएको बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले बर्का नाच लगायतका थारु समुदायका पुराना मौलिक संस्कृति हराउँदै गएको बताए ।
सो अवसरमा सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले थारु समुदायको संस्कृति जोगाई राख्न नियमित रुपमा यस्ता कार्यक्रमको आयोजना जरुरी रहेको बताइन् ।
कृषि मन्त्री चौधरीले किसानहरूको उत्पादन बजारसम्म पु¥याउनका लागि समेत मन्त्रालयर्ले कार्यक्रम ल्याएको बताइन् ।
प्रदेश सभा सदस्य वीरमान चौधरीले तालमा माछापालनसंगै पर्यटन विकास गर्न सकिने बताए । उनले कृषि र पर्यटनको ठूलो सम्भावना रहेको कैलारीमा सिंचाई लगायतका समस्याका कारण किसानहरूलाई समस्या भइरहेको चर्चा गरे ।
कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकामा सांस्कृतिक तथा कृषि पर्यटन विकासका लागि प्रयास भइरहेको बताए ।
मल्टि युथ क्लव र हिमशिखर युवा क्लवको आयोजना तथा कैलारी गाउँपालिकाको सहकार्यमा बिहीबारदेखि सांस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट महोत्सव शुरु भएको थियो ।
महोत्सवमा सखिया, झुम्रा, मुङ्ग्रहुवा, कठघोरी, बर्का नाच, होरी नाच लगायतको झाँकी प्रस्तुत गरिनुका साथै कृषि प्रदर्शनी तथा विभिन्न खानाका परिकारहरूको स्टल राखिएको थियो ।
कार्यक्रममा ३५ वर्षमाथि, ३५ वर्ष मुनिका महिला तथा पुरुष पेनाल्टी सुटआउट र १५ किलोमिटर दौड प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार