२० बैशाख २०८१, बिहीबार

सुदूरपश्चिममा भ्रमण वर्ष : अझैं खुलेन पर्यटन सूचना केन्द्र



धनगढी । नेपाल भ्रमण वर्ष २०२० शुरु भएको ११ दिन पुगिसकेको छ । सुदूरपश्चिम सरकारले भ्रमण वर्ष २०२० प्रदेशका हकमा उपलब्धीमुलक बनाउने घोषणा गरेको छ ।

सरकार तथा निजी क्षेत्रले भ्रमण वर्षमा सुदूरपश्चिम प्रदेशमा भारतीय पर्यटकलाई मुख्य लक्ष्य बनाएर तदनुरुपका कार्यक्रम सञ्चालन गर्ने बताउ“दै आएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले भ्रमण वर्षलाई लक्षित गरि घोषणा गरेका कार्यक्रममध्ये प्रदेशमा सात वटा पर्यटन सूचना केन्द्र स्थापना गर्ने पनि समावेश रहेको थियो । तर, अहिलेसम्म सूचना केन्द्र स्थापनाका लागि कुनै सुरसार भएको छैन ।
प्रदेश सरकारले चाल्र आर्थिक वर्षको बजेटमा समेत पर्यटन सूचना केन्द्रको कुरा उल्लेख गरेको थियो । आर्थिक वर्षको पहिलो छ महिना पनि पुरा हुदैछ, तर प्रदेश उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले अहिलेसम्म पर्यटन सूचना केन्द्र स्थापनाका लागि पहल गरेको छैन ।
नेपाल भ्रमण वर्ष २०२० शुरु भएयता कैलाली, कञ्चनपुर लगायतका सिमानाका हु“दै सुदूरपश्चिम प्रदेशमा भारतीय पर्यटक आगमनमा बृद्धि भएको छ । भारतको उत्तरप्रदेश, उत्तराखण्ड, नया“ दिल्ली लगायत विभिन्न राज्य तथा शहरबाट नेपाल भ्रमणमा आएका भारतीय पर्यटकहरूले राम्रो स्वागत पाइरहे पनि सूचना केन्द्रका अभावमा सुदूरपश्चिमका पर्यटन गन्तव्य लगायतका आवश्यक जानकारी पाउन सकिरहेका छैनन् ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भारतीय पत्रकारहरुले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र पर्यटन मन्त्री माया भट्टलाई भेटेर सिमामा नेपालका पर्यटनस्थलका बारेमा आवश्यक सूचना, नक्सा, यातायात, भौगोलिक अवस्था लगायतका सूचना उपलब्ध गराउने व्यवस्था गर्न अनुरोध गरेका थिए । त्यस्तै, भारतीय पत्रकारहरुले भारतीय पर्यटकले आफ्नो नीजि सवारी साधनमा घुम्न चाहेमा गाडीको पासको व्यवस्था गरिदिन पनि अनुरोध गरेका थिए ।
प्रदेशको पर्यटन मन्त्रालयले सूचना केन्द्र सञ्चालन गर्ने बारे अहिले अध्ययन भइरहेको बताएको छ । पर्यटन मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाई प्रमुख किशोर अर्यालले सूचना केन्द्र स्थापनाका लागि स्थलगत अध्ययन भइरहेको बताए । उनले स्थानीय तहसंग सहकार्य गरी सूचना केन्द्र स्थापना गरिने बताए । उनले भने– सकेसम्म स्थानीय तहसंगै सहकार्य गर्ने र नभएमा स्थानीयस्तरमा पर्यटनका क्षेत्रमा काम गर्ने संघसंस्था र नीजि क्षेत्रसंग सहकार्य गर्ने सोच बनाएका छौं ।
पर्यटन इकाई प्रमुख अर्यालका अनुसार पर्यटन सूचना केन्द्र स्थापनाका लागि प्राविधिक सहित आठ जनाको टोली अध्ययनमा खटिएको छ । सो टोलीले स्थलगत अध्ययन तथा लागत अनुमान सहितको प्रतिवेदन पठाएपछि पर्यटन ईकाईले सूचना केन्द्र स्थापनाको मोडालिटी तयार गरी प्रक्रिया अघि बढाइने उनले बताए ।
प्रदेश पर्यटन मन्त्रालयले प्रदेशका विभिन्न जिल्ला तथा स्थानमा सात वटा सूचना केन्द्र स्थापनाका लागि प्रति सूचना केन्द्र १० लाख रुपैयाका दरले ७० लाख रुपैया“ विनियोजन गरेको छ । पर्यटन इकाई प्रमुख अर्यालले सो रकमबाट सूचना केन्द्रको कार्यालय सञ्चालन गर्ने र स्थानीय तहले प्रदान गर्ने कर्मचारीको व्यवस्था गरिने जनाइएको छ ।
प्रदेश पर्यटन मन्त्रालयले कैलालीको धनगढी–त्रिनगर नाका, टीकापुर–खक्रौला नाका र कर्णाली–चिसापानीमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने यसअघि नै बताइसकेको छ ।
त्यस्तै, कञ्चनपुरको गड्डचौकी नाका, बैतडीको झुलाघाट, दार्चुलाको धार्चुला र बझाङको धुली–साइपालमा पनि ण्सूचना केन्द्र स्थापना गर्ने बताइएको छ ।
पर्यटन इकाई प्रमुख अर्यालले कैलालीको त्रिनगर र खक्रौला तथा कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकामा भारतीय पर्यटकलाई लक्षित गरेर पर्यटन सूचना केन्द्र स्थापना गरिने बताए । उनले कैलालीको कर्णाली–चिसापानी हु“दै सुदूरपश्चिम प्रदेशमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सूचना केन्द्र सञ्चालन हुने बताए । त्यस्तै, धुलीमा साइपाल हिमाल आरोहणमा सहयोग पुयाउन सूचना केन्द्र स्थापना हुने छ ।
त्यस्तै, अहिलेसम्म भारतका विभिन्न राज्य तथा शहरबाट सुदूरपश्चिम प्रदेशमा भ्रमणका लागि आउने भारतीय पर्यटकहरुको व्यवस्थित अभिलेख राख्ने व्यवस्था गरिएको छैन । प्रदेश पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख भोजराज पाठकले प्रदेशमा आउने भारतीय पर्यटकहरुको अभिलेख राख्नका लागि अहिलेसम्म संयन्त्र तयार नभएको बताए । उनले मन्त्रालयको आफ्नै संयन्त्र नभएको बेला ट्राफिक प्रहरीले राखेको तथ्यांकलाई आधिकारिक मान्नुपर्ने बताए । उनले मासिक रुपमा ट्राफिकसंग तथ्यांक लिएर प्रदेशमा आउने पर्यटकको विवरण तयार गरिने बताए । ट्राफिक प्रहरीको तथ्यांकमा व्यापारिक तथा अन्य प्रयोजनका लागि नेपाल आउने भारतीयको पनि अभिलेख हुने भएकाले पर्यटकको एकिन संख्या थाहा पाउन कठिनाई हुने पर्यटन व्यवसायीहरु बताउछन् ।
पर्यटन शाखा प्रमुख पाठकले सूचना केन्द्र स्थापना भएपछि पर्यटकहरुको अभिलेख राखिने बताए ।

१० दिनमा साढे ११ हजार बढि भारतीय भित्रिए– ट्राफिक प्रहरी

नेपाल भ्रमण वर्ष २०२० शुरु भएको १० दिनमा सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट ११ हजार बढि भारतीय नेपाल भित्रिएका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाको तथ्यांक यो अवधिमा ११ हजार पा“च सय ४३ जना भारतीय पर्यटक भित्रिएका छन् । यो अवधिमा कैलालीका त्रिनगर तथा खक्रौला नाका तथा कञ्चनपुरको गड्डाचौकी नाकाबाट दुई हजार आठ सय ३८ वटा भारतीय गाडी नेपाल आएका छन् ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार धनगढीको त्रिनगर भन्सार नाकाबाट एक हजार सात २३ गाडीमा छ हजार आठ सय ३२ जना भारतीय नेपाल आएका छन् । त्यस्तै, कञ्चनपुरको गड्डाचौकी नाकाबाट आठ सय ४१ गाडीमा तीन हजार तीन सय ४० जना र टीकापुरको खक्रौला नाकाबाट एक हजार तीन सय ७१ जना भारतीय सुदूरपश्चिम प्रदेश आएका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय प्रमुख (प्रहरी उपरीक्षक) लोकेन्द्र श्रेष्ठले भ्रमण वर्ष शुरु भएसंगै प्रदेशमा भित्रिने भारतीय पर्यटकहरुको अभिलेख राख्ने काम पनि सुरु गरिएको बताए ।
सुदूरपश्चिम प्रदेशका सिमा नाका (खासगरि कैलाली र कञ्चनपुर) बाट भित्रिने भारतीय पर्यटकहरु मध्ये अधिकांस पहाडी क्षेत्रमा भइरहेको हिमपात हेर्न डोटी, डडेल्धुरा पुग्ने गरेका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा आएका भारतीय पर्यटकहरुले कैलालीको कर्णाली चिसापानी तथा पोखरा, काठमाडौं लगायतका स्थानमा जाने गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकार र यहाँका नीजि क्षेत्रले समेत भ्रमण वर्ष २०२० मा भारतीय पर्यटक भित्र्याउने लक्ष्य बनाएका छन् । प्रदेश सरकार र नीजि क्षेत्रले भ्रमण वर्षको अवधिमा कति जना भारतीय पर्यटक सुदूरपश्चिम प्रदेशमा भित्राउने भन्ने लक्ष्य निर्धारण गर्न नसके पनि सकेसम्म बढि भारतीय पर्यटकहरु भित्र्याउने लक्ष्य लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार