५ जेष्ठ २०८१, शनिबार

हिउँमाथि सुत्केरी छ्टपटाईरहिन्, श्रीमानले छाडे, प्रहरीले उद्दार गर्यो



बैतडी, २० पुस /सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी महिलालाई हिउँमाथि अलपत्र छाडेर श्रीमान सम्पर्कविहीन भएका छन् । सुत्केरीको बैतडी प्रहरीले उद्दार गरेको छ । सुत्केरी व्यथा लागेर हिउँमाथि छट्पटाउँदै अलपत्र परेकी कुमारी बिष्टलाई बैतडी प्रहरीले उद्दार गरेर प्रसूति केन्द्र पु¥याएपछि बिष्टले छोरो जन्माएकी छन् । बैतडीको पुरचौडी नगरपालिका–१०, डाँडागाउँका अम्मर बिष्टले सुत्केरी श्रीमति कुमारी बिष्टलाई अलपत्र छोडेर साथमा भएको एकहजार रुपियाँ समेत लगेर सम्पर्कविहीन भएका छन् ।
श्रीमान्ले अलपत्र पारेर हिँडेपछि सुत्केरी कुमारी बिष्टलाई बैतडी प्रहरीले शनिबार दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजारमा रोईरहेको अवस्थामा फेला पारेको थियो ।
सुत्केरी श्रीमतिलाई छोडेर हिँड्ने श्रीमान अम्मर बिष्टको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेले बताए ।
प्रनाउ पाण्डेयले भने, ‘सुत्केरी हुन श्रीमानको साथमा बैतडी अस्पताल आएकी कुमारी बिष्टलाई अस्पतालले १९ गते रेफर गरेको रहेछ । रेफर गरिएकी श्रीमतिलाई छोडेर एकहजार रुपियाँसमेत लगेर श्रीमानले सम्पर्कविहीन छन् । श्रीमानले छोडेरपछि सुत्केरी महिला बसमा चढेर दोगडाकेदारको सिल्लेगडा पुग्नुभयो । शनिबार हिमपात पनि भईरहेको थियो । सुत्केरी महिला बजारमा छट्पटाउँदै रोईरहेको खबर आएपछि तुरुन्तै उद्धार गर्यौं ।’ हिमपात र वर्षा भईरहेको बेलामा सुत्केरी महिला छट्पटाउँदै रोईरहेको सूचना पाएपछि स्थानीय खोचलेक प्रहरी चौकीका ईन्चार्ज शंकरदत्त भट्टको कमाण्डमा चार जना प्रहरी खटाएर सुत्केरीको उद्धार गरिएको प्रनाउ पाण्डेयले बताए । सुत्केरीलाई अस्पताल लैजान जिप बुक गरे पनि सुर्नया गाउँपालिकाको धर्मघरमा हिमपातमा गाडी फसेपछि सुत्केरीलाई पुनः दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा प्रसूति केन्द्रमा पु¥याएपछि कुमारी बिष्टले आईतबार बिहान ६ः०० बजे छोरो जन्माएको प्रहरीले जानकारी दिएको छ ।
कुमारी बिष्ट पहिलो पटक सुत्केरी भएको र उनका श्रीमान अम्मर बिष्ट यसअघि दार्चुलामा ज्यालामजदूरीको काम गर्ने गरेको सूचना प्रप्त भएको प्रहरीले जानकारी दिएको छ । सुत्केरीपछि कुमारी बिष्टलाई प्रहरी र स्थानीय बजारवासीले न्यानो लुगा उपलब्ध गराएका छन् । सुत्केरी महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
यो समाचार गोरखापत्र अनलाइनमा बैतडीबाट गोकर्ण दयालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार