५ जेष्ठ २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमबाट चार जनाको उम्मेदवारी



धनगढी/ माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा आगामी फागुनमा १९ जना सदस्यको पदावधि सकिदैछ । भने सुदूरपश्चिममा दुई सदस्यको पदावधि सकिदैछ ।
आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट दुई र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट दुई जनाले आइतबार डोटीस्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएको जनाइएको छ ।
नेकपाबाट उम्मेदवारी दिएका तारामान स्वारको उम्मेदवारीमा कमल गडसेला प्रस्तावक तथा प्रदेश सभा सदस्य नन्दबहादुर सोडारी समर्थक रहेका छन् । यसैगरी नेकपाका अर्का उम्मेदवार शारदा भट्टको उम्मेदवारीमा प्रदेश सभा सदस्य पूर्णा जोशी प्रस्तावक तथा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी समर्थक रहेका छन् ।
नेकपाबाट उम्मेदवार बनेका स्वाँर नेकपाका केन्द्रीय सदस्य तथा अछाम जिल्लाका इन्चार्ज हुन् । उनी तत्कालीन नेकपा माओवादीका नेता हुन् । त्यस्तै धनगढीकी भट्ट अग्रणी महिला नेत्री हुन् । उनले लामो समयदेखि तत्कालिन नेकपा एमालेमा रहेर विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी कैलालीकी तुलशी देवकोटाको समर्थकमा शिखर नगरपालिका प्रमुख सिताराम जोशी प्रस्तावक तथा केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाही सर्मथक रहेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसबाटै उम्मेदवारी दिएका अर्का उम्मेदवार प्रताप ठगुन्नाको उम्मेदवारीमा केआईसिंह गाउपालिका उपप्रमुख मिना बिष्ट प्रस्तावक तथा शिखर नगरपालिका उपप्रमुख धौली रावलले समर्थक रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार