४ जेष्ठ २०८१, शुक्रबार

चितवनका एसपीले सरूवा भएको दुई सातापछि बल्ल रमाना बुझे



चितवन छाड्न आनाकानी गर्दै आएका एसपी मल्लले प्रदेश ३ प्रहरी कार्यालयको १२ घन्टे अल्टिमेटमपछि रमाना बुझ्न मानेका हुन्।

सरूवा भएको दुईसातापछि जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले सरूवाको पत्र रमाना बुझेका छन्। प्रदेश नम्बर ३ प्रहरी कार्यालयले हिजो उनलाई १२ घन्टा भित्र रमाना बुझ्न निर्देशन दिएपछि उनले आज रमाना बुझ्न मानेका हुन्।

३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी शेरबहादुर बस्नेतले मल्लले रमाना बुझेको जानकारी दिए। “उनले आज रमाना बुझ्दै त्यहाँबाट बिदाइ भइरहेका छन्”, उनले देखापढीसँग भने,“ औपचारिक रूपमा नै आज जिल्ला छाड्न लागेको जानकारी त्यहाँका डीएसपीले दिइसकेका छन्।”

हिजो प्रदेश प्रहरी कार्यालयले १२ घन्टे ताकेता गरेको थियो। ताकेता गर्दा पनि जिल्ला नछाडेका उनी प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने अन्तिम चेतावनी दिएपछि जिल्ला छाड्न लागेको प्रहरी उच्च स्रोतले जानकारी दियो। 

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले पनि मल्लले सरूवाको पत्र बुझेको पुष्टि गरे।

४ पुसमा मल्लसहित प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरीक्षकहरूको सरूवा गरेको थियो। २३ जना एसपीहरू सरूवा भएको क्षेत्रमा खटिए पनि मल्लले भने अटेरी गरेर दुईसातासम्म बसेका थिए।

प्रहरी प्रधान कार्यालयले चितवनमा गंगा पन्तलाई सरुवा गरेको थियो। मल्लले रमाना बुझेर जिल्ला नछाड्दा पन्त चितवन जान सकेकी थिइनन्। मल्लको सरूवा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा भएको थियो। 

एसपी मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहालका पूर्वबडिगार्ड हुन्। डिएसपी हुँदा उनी लामो समय दाहालको सुरक्षामा खटिएका थिए। राजनीतिक नेतृत्वकै आड देखाएर मल्लले प्रहरी संगठनलाई नै चुनौती दिने काम गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार