२३ बैशाख २०८१, आईतवार

पहिलो दिन साढे पाँच सय भारतीय पर्यटक भित्रिए



धनगढी/ होटल व्यवसायी संघ कैलालीले भ्रमण वर्ष २०२० को पहिलो दिन बुधबार साढे पाच सय भारतीय पर्यटकलाई स्वागत गरेको छ । भ्रमण वर्षको पहिलो दिन बुधबार त्रिनगर भन्सार नाकामा पर्यटकलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा पांच सय ३४ जना भारतीय पर्यटकलाई खादा, नेपाली ढाका टोपी र टीका लगाएर स्वागत गरेको संघका अध्यक्ष कलमबहादुर बमले बताए । उनले धनगढी उपमहानगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा नया वर्ष २०२० बनाउन आएका पर्यटकहरूलाई स्वागत गरिएको बताए ।
स्वागत गरिएका पर्यटक मध्ये धरै जस्तो पर्यटकहरू धनगढीमा किनमेल गरेर फर्केको र केहीले चिसापानी, खानीडाडाँ र काठमाडौं जान आफ्नै गाडीमा आएको जनाएका अध्यक्ष बमले बताए । उनले आफ्नै गाडीमा आएका भारतीय पर्यटकलाई मात्रै स्वागत गरिएको बताए ।
यसैगरी, लम्कीचुहा नगरपालिकाले पनि बुधबार सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार मानिएको चिसापानी–कर्णालीमा दिनभरि पर्यटकहरूलाई स्वागत गरेको छ । राजमार्ग हुदै विभिन्न कामले अन्य प्रदेशहरूबाट सुदूरपश्चिम प्रदेशमा आएकालाई चिसापानीमा स्वागत गरेको हो ।
प्रदेश सरकार र नीजि क्षेत्रले भ्रमण वर्षमा सकेजति भारतीय नागरिकलाई पर्यटकको रुपमा भित्र्याउने सोंच बनाएका छन् । यद्दपि, यसको लागि ठोस योजना भने बनिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार