१२ श्रावण २०८१, शनिबार

घाइतेको हेल्किोप्टर मार्फत उद्धार



डिलबहादुर सिंह/डोटी । डोटीको शिखर नगरपालिकास्थित कालागाढ भन्ने स्थानमा भएको वस दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ ।

डोटीका स्वास्थ्य संस्थाहरुमा उपचार सम्भव नभएपछि गम्भीररुपमा घाइते भएका नौ जनालाई सेनाको हेलिकप्टर मार्फत शनिवार दिउसो काठमाण्डौं लगिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव निरिक्षक मोहन धामीका अनुसार थप उपचारका लागि काठमाडौँ लगिएकाहरुमा नेपाली सेनाका जवान उज्वल देवकोटा, डोटीकी ३७ वर्षीया मैना तिरुवा, डोटी सलेनाकी ३० वर्षीया रेश्मा लुहार, आयुश विक, ठेगाना नखुलेका ३८ वर्षीय मदन जेठारा, बिक्रम लुहार, ईश्वरी केसी र अछामका मुकेश कुँवर रहेका छन् ।
कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी जादैं गरेको महाकाली यातायातको ना ७ ख ६१८१ नम्वरको वस शनिवार बिहान दुर्घटना हुँदा बाजुराको बुढीगङ्गा नगरपालिका नगरपालिका वडा नम्बर ९ बाह्रबिसका ५१ वर्षीय नयाँ सेरालाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ३० जना घाइते भएका हुन । दुर्घटनामा घाइते भएका अन्यको डोटीका बिभिन्न अस्पालमा उपचार भइरहेको छ । शनिबार बिहान ५ बजे दुर्घटना भएको वस सडकबाट करीव ३० मिटर भन्दा तल खेतमा खसेको हो ।
बाजुराका मृतक सेराला गाउँमा सोमबार अष्टमीका दिनमा हुने दशै मनाउन आफ्नो घर जान थालेका थिए । सेरालाको गाउँमा हुने सेरालाको दशै बाजुरा‐अछाम जिल्लामा प्रसिद्ध छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार