८ बैशाख २०८१, शनिबार

कथाकार भट्ट सम्मानित



धनगढी । भारतको हरियाणामा कैलालीका कथाकार पुष्करराज भट्ट सम्मानित भएका छन् । भारतको हरियाणा राज्यको नारनौलमा मनुमुक्त मेमोरियल ट्रष्टको आयोजनामा भएको इन्डो नेपाल लघुकथा सम्मेलनमा उनलाई सम्मान गरिएको हो । सम्मेलनमा यसपटकदेखि प्रारम्भ गरिएको मनुमुक्त मानव अन्तराष्ट्रिय लघुकथा पुरस्कार २०१९ बाट उनलाई सम्मान गरिएको हो ।
उनी गोरखापत्र दैनिक अन्र्तगत नयाँ नेपाल डोटेली भाषाका पृष्ठ संयोजक एवम् नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने समकालीन साहित्य पत्रिकाका कार्यकारी सम्पादक पनि हुन् । उनले नेपाली लघुकथामा प्रथम विद्यावारिधि गरिसकेका छन् । सो पुरस्कारमा सम्मानपत्र, दोसल्ला, अंगवस्त्र, मायाको चिनो र ११ हजार नगद रहेको थियो । भारतका दश प्रान्त र नेपालका गरेर तीनदर्जन लघुकथाकारको सम्मेलनमा सहभागिता रहेको थियो ।
कार्यक्रम दुई सत्रमा सञ्चालित भएको थियो । पहिलो सत्रमा लघुकथाकार परिचय सहितको शुभकामना, संस्थाका प्रमुख अध्यक्ष डा. रामनिवास मानवले गरेका थिए भने डा. जीतेन्द्र भारद्वाजले प्रार्थना गीत प्रस्तुत गरेका थिए । समारोहमा भारतीय लघुकथा लेखनमा केन्द्रित भएर डा. सतीशराज पुष्करणा, डा. सत्यवीर मानव र पुरुषोतम दुबेले भारतीय लघुकथाको बारेम चर्चा गरेका थिए ।
कार्यक्रममा भारतीय लघुकथा समीक्षा र सिर्जनास“ग सम्बन्धित पुस्तकका साथै नेपाली साहित्यिक पत्रिका नवप्रज्ञापनको नवीनतम अंकको समेत विमोचन गरिएको थियो । सम्मेलनमा गोरखापत्र दैनिकका प्रधान सम्पादक ओम श्रेष्ठ रोदनका साथै नेपाली लघुकथाकार नवराज रिजाल, हरिप्रसाद भण्डारी, धु्रवमधिकर्मी लगायत भारतका दुई दर्जन भन्दा बढी लघुकथाकारलाई मनुमुक्तमानव लघुकथा गौरव सम्मान प्रदान गरिएको थियो ।
सम्मेलनको दोस्रो सत्रमा लघुकथा वाचन गरिएको थियो । सो सत्रको सञ्चालन कान्ता राय, सभाध्यक्ष अशोक जैन एवम् प्रमुख अतिथि नेपाली लघुकथाकर, पूर्व प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारी रहेका थिए । सम्मेलन हरियाणा कला परिषदका निर्देशक अनिल कौशिकको अध्यक्षतामा सम्पन्न भएको थियो । सो सम्मेलनमा चौधरी बंसीलाल विश्वविद्यालय, भिवानीका रजिष्ट्रार डा. जीतेन्द्र भारद्वाज प्रमुख अतिथि रहेका थिए ।

बरिष्ठ गजलकार पत्थरलाई सम्मान गरिंदै

धनगढी । सुदूरपश्चिमकी बरिष्ठ गजलकार श्रेष्ठ प्रिया पत्थरलाई गजल प्रतिभा सम्मान गरिने भएको छ । गजल सन्ध्या पोखराका सचिव कृष्ण अधिकारी त्रुपकले सम्मानित गजलकार पत्थरलाई सम्मानपत्र र दोसल्लासहित २१ हजार एक सय एघार प्रदान गरिने जानकारी दिए ।
गजल सन्ध्या पोखराले प्रदान गर्ने सम्मानबाट यसअघि ज्ञानुवाकर पौडेल, ललिजन रावल, लक्ष्मण थापा, रवि प्रान्जल, कृष्ण उदासी, दिलीप दोषी, सरस्वती श्रेष्ठ सरु, प्रकट पगेनी शिव, आरबी फलेम, ईश्वरमणि अधिकारी, घनश्याम परिश्रमीलाई गजल प्रतिभा सम्मान प्रदान गरि सकिएको सचिव त्रुपकले बताए ।
कवि ढाका थापाले स्थापना गरेको २ लाख रुपैया“को अक्षयकोषमार्फत गजलकार प्रिया पत्थरलाई सम्मान गर्ने सन्ध्याले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार