२३ बैशाख २०८१, आईतवार

बैतडीमा चितुवा नियन्त्रण प्रयासः फलामे खोर निस्प्रभावी



बैतडी । बैतडीको तल्लो स्वराड क्षेत्रमा सात वर्षदेखि आतंक मच्चाइरहेको चितुवा नियन्त्रणको प्रयास स्वरुप गाउँमा वितरण गरिएको फलामे खोर अझै निस्प्रभावी देखिएको छ । पछिल्लो सात वर्षको अवधिममा तल्लो स्वराड क्षेत्रमा नरभक्षी चितुवाले २४ जना बालबालिकाको ज्यान लिइसकेको छ । पछिल्लो पटक भदौ २१ गते चितुवाले एक सात वर्षीय बालकलाई घरआँगनबाटै लगेर जंगलमा लगेर खाएको थियो ।
नरभक्षी चितुवालाई सुरक्षित तरिकाले थुन्नका लागि बन डिभिजन कार्यालय, बैतडीले गाउमा वितरण गरेको फलामे खोर भने अहिलेसम्म निष्प्रभावी देखिएको छ । चितु्वा नियन्त्रणमा लिनका लागि गाउलेले फलामे खोरमा बाख्रा बाँध्ने, मासु राख्ने गरे पनि चितुवा नियन्त्रणमा आएको छैन । बरु अहिले पनि चितुवा गाउँ पस्ने गरेको छ ।
बैतडीको तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका र शिवनाथ तथा पञ्चेश्वर गाउँपालिकामा नरभक्षी चितुवाको बढी आतंक रहेको छ । पछिल्लो सात वर्षको अवधिमा चितुवाको आक्रमणबाट २४ जना बालबालिको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।
चितुवा नियन्त्रण गर्न बन डिभिजन कार्यालयले चार वर्षअघि गाउँमा फलामे खोर बाँडेको थियो । “अहिलेसम्म चितुवाले खोरमा फर्केर पनि हेरेको छैन” स्थानीय भन्छन्– बरु भोक लाग्यो भने ऊ बालबालिकामाथि आक्रमण गर्न गाउँ पस्ने गरेको छ ।
बन डिभिजन कार्यालयका प्रमुख केशव पराजुलीले शिवनाथ गाउँपालिकामा तीन वटा फलामे खोर राखिए पनि अहिलेसम्म चितुवा समात्न नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार