३ असार २०८१, आईतवार

कथाः मिलन



उसको मन स्थिर थिएन । जीवनसँग हार खाइसकेको थियो । ऊ कहिले गललल हाँस्थ्यो, कहिले धुरूधुरू रून्थ्यो अनि कहिले बरबर्ती बोलेर भौंतारिएर ओहोर दोहोर गरिरहन्थ्यो । ऊ अर्कै संसारमा ध्यानमग्न थियो । ऊ ‘पागल’– को उपमाले सर्वपरिचित भइसकेको थियो । न बोलाउँदा बोल्ने, न इशाराले बुझ्ने ! निर्धो प्राणी भएर ऊ बाँचेको छ बजारको प्रत्येक गल्लीस्गल्लीमा ।

कसलाई दोष दिने ? न भगवानलाई, न जन्म दिएर संसार चिनाउने आमा–बाबालाई । म त छक्क पर्छु मिलनलाई देखेर जो आज पागल भएको टुहुरो छ । मानिसहरूको लागि ऊ लाखें झै छ । उसले मख्ख परेर आफ्नो चरित्र प्रदर्शन गर्यो भने मानिसहरू भीड़ लाग्छन् । तमाशा हेर्छन् । कोही ऊप्रति मज्जा लिन्छन्, कोही ऊप्रति दयनीय बन्छन् अनि कोही उसलाई दूरब्यबहार गर्छन् । जे नै भए पनि, जे नै गरे पनि, ऊ पागल त हो। उसलाई के वास्ता ! के निन्दाखोजी ! के उसको लागि पीर ! के उसको लागि मान अपमान ! के नै म उसको लागि प्रिय साथी !

साँच्चै माया भन्ने चिज मोहनी रहेछ । …….एक्काइस वर्ष अघि मिलन मेरो हितमिल्दो साथी थियो । उसँगै हिँड़्थें, घुम्थें, पढ़्थें, बस्थें, खान्थें अनि सुत्थें । उसको प्रत्येक रहनसहन र परिवारसँग म परिचित थिएँ । ऊ बिचरा सानैदेखि दुख गरिहिंड़्ने धेरै दुख बुझेको केटो थियो। उसले बाल्यवस्थादेखि नै निधारबाट पसिना र आँखाबाट बग्ने आँसुको वेदनाहरू सहनु सिकिसकेको थियो । ऊ जस्तै संघर्षसँग पनि जुझ्न सक्थ्यो अनि जीवनको मूल्याङ्कन गर्न सफल बन्थ्यो । यसैले म श्रेणीमा भन्ने गर्थें– ‘ब्रो तँ त मेरो लागि साथी होइन भगवान !’ उसले तुरन्तै भन्थ्यो– ‘ए सोम ! मलाई ज्यादा नसर्काउनु ! तँलाई चाहिं कसले भनिदिने नि म बाहेक !….यस्तै प्रकारले हामी दुवै सँगसँगै प्राथमिक पाठशालादेखि महाविद्यालयसम्म एक भएर पढ़्यौं । डिग्रीको रिजल्ट आयो । दुवैजना पास भयौं। हामीमा यतिन्ज्यालसम्म केही परिवारिक भार थिएन । घरेलु परिस्थितीको कारण हामीमाझ बिस्तारै अब परिवारिक भार आउन थाल्यो । ऊ पनि कामको खोजीमा थियो । म पनि कामको खोजीमा थिएँ । मानौं अब दुवैजनाको आ(आफ्नै कर्मको भारले थिचिनु पर्दा हाम्रो मित्रता टाढिंदै गएको थियो ।

पाँच वर्ष पछि, एकदिन म सिनेमा हेर्न गएको थिएँ । त्यही सिनेमा हलमा मिलन पनि आएको रहेछ । मैले उसलाई बोलाएँ । ऊ रमाएर मलाई गला लगायो अनि भन्यो– ‘सोम तँ ठिक छस् ?…आज पाँच वर्ष पछि हाम्रो भेट भएको हगि ?’… मैले भनें– हो तैंले ठिक भनिस् साथी। मैले सोधें– ‘अहिले तँ के गर्दैछस् ?… आमा बाबा कस्तो हुनुहुन्छ ?… ‘निरज तँ किन सुर्ताउँछस् । जे होस् मैले कमानको चौकिदारी काम गरेर पनि परिवार पाल्दैछु । हालमा बिबाह गरेको छु । मिलनले खुशी भएर भन्छ । ‘हँ तैंले बिबाह गरिस्? अनि खै त बुहारी चाहिं ? घरमा छे, आमा बाबाको सेवा गर्छे, निनी स्कूल ल्याउँछे लान्छे । यही काम छ उसको। ऊ भन्दै जान्छ। मैले फेरि सोधेँ–’ मिलन तँ छोराको बुबा भइसकेछस् र पनि कप्टी खेल्ने भइस् ?…एउटा खबरसम्म पठाइनस् ????….. भन्दाभन्दै…. यति कै मा घण्टी बज्छ…. किरिङरिङ….रिङरिङरिङ….!!! फिल्म हेर्न दुवैजना पस्यौं । त्यो दिन फिल्म सकिने साथ ऊ आफ्नो घरतर्फ लाग्यो। म पनि आफ्नो घरतर्फ लागें ।

एकदिन म घरमा बसिरहेको थिएँ । मेरो ठूली बहिनी कमलाले भनिन्– ‘दाज्यू तपाईको साथी र साथीको बुबा आउनु भएको छ । उहाँहरू भित्र बैठक कोठामा बस्नु भएको छ ।’ म खुशी हुँदै कोठामा गएँ र मिलनको बुबालाई नमस्कार गरें । सँधै मिलन एक्कासी मलाई देख्नसाथ अँगालोमा आई बाँधिएर बोल्थ्यो । तर आज ऊ निराशापनको अनुहार लिएर बसेको थियो । मैले छक्क पर्दै सोधें– ‘मिलन तँलाई के भएको छ ?… पहिलाभन्दा निक्कै दुब्लाएछस् नि ?… भन् त !!!… आखिर म पनि त तेरो हितैषी साथी हुँ !’ .. उसले नियास्रो भएर आँखाभरि आँशु पार्यो । एकक्षण् पछि घरको एकान्तमा मलाईमात्र लगेर कानेखुशी गर्दै भन्यो– ’निरज मेरो बुबालाई ब्लड् क्यान्सर भएको छ । ब्लड् क्यान्सरको रोग उपचार गर्न झण्डै मोटामोटी दश लाख रूपियाँ खर्च लाग्ने रहेछ । भएभरको जग्गा अनि सरसमान बेचेर सात लाख बटुल्न सकें । पर्सीको दिन हामी बेङ्गलोर हिंड़्नुपर्छ । टिकट बुकिङ्ग गरिसकेको छु । उता घर पनि अर्को महीना खाली गरिदिनु भनेर घर खरिद गर्ने मान्छेले भनी सकेको छ । घरमा आमा, रेश्मा अनि छोरा छोड़ेर आएका छौं । म चिन्ताग्रस्त छु । यो कुरा सुनेर मलाई दुख लाग्यो। के गर्नु !!!…म पैसावाला भइदिएको भए साथीको सबै उपकार गरिदिने थिएँ । अफसोंच म आफै गरिबको छोरा !!!…ती माथि बेकारी !!!… के गर्ने ???….मेरो कुनै उपाय थिएन केवल आँशु र प्रार्थना सिवाय ।

पर्सीको दिन आइपुग्यो। साथी र बुबालाई छोड्न म गएँ । उनीहरू निराश देखिन्थे । उनीहरूलाई सम्झाउने कोशिश गरें। तपाईहरू ब्यर्थ किन चिन्ता गर्नुहुन्छ ?… भूतकाल, वर्तमानकाल र भविष्यकालभित्र जे भयो, जे हुँदैछ, जे हुनेवाला छ उनै भगवानको लिला हो । नसुर्ताउनु होस् !..यता घरमा कहिले कहीं मेरो फूर्सद भएको बेला म गएर हेरिदिनेछु । उनीहरू मेरो आस्था र विश्वास लिएर बेङ्गलोर हिंड़े। म आफ्नो घर फर्कें ।

यता वर्षा ऋतु सुरू भयो । मुसलधारे पानी परेर धेरै ठाउँमा पहिरो जान थाल्यो । कहीं मान्छेहरूलाई घरसँगै पहिरोले सोह्र्यो भनेको होहल्ला सुन्छु । मेरो मनमा शङ्का उत्पन्न हुन थाल्यो । न मिलनको घरमा त केही भएन ?…म धर्म संकटमा पर्न थालें । यो चुलबुले पापी मन त हो !….मलाई छट्पट् लागिरहेको थियो । म बजार हिंड़े। बजारमा मलाई मिलनको गाउँको साथी राकेशले नजिकैबाट हातको इशाराले बोलायो । म त्यहाँ गएँ । ‘साथी तपाईले थाहा पाउनु भयो ?…उसले सोधे पछि,…मैले सहजै जवाफ दिएँ– ए मिलन बुबाको उपचारको निमित्त बेङ्गलोर गएको खबर !!!…उसले भन्यो– ‘ए तपाईलाई थाहा भएको छैन रहेछ !’ मैले सोधें– ‘हँ के भयो ? कस्तो खबर ? …उसले भन्यो– ‘अब मिलनको जिन्दगी पतझड़को मौसम जस्तो भएको छ । उसको बुबा सिवाय कोही छैनन् । कोही रहेनन् यस दूनियाँमा । मैले सोधें– ‘कतै अस्तिको पहिरोले त !!!’….’हो बल्ल बुझ्नु भयो !!!…अस्ति घरसँगै तीनजना ‘सासु, बुहारी र नाति’ पहिरोमा परेर ज्यान गुमाए भनेर पत्रिकामा निस्केको थियो नि !!!…ति मिलन कै आमा, स्वास्नी र छोरा थिए। हो र ???…ऊफ्फ्फ् !!!! त्यसदिनको पत्रिका नपाएर त्यो दुखद खबरबाट अनभिज्ञ बनें भनी चुकचुक मान्दै राकेशको कुरा सुनेर म तीनछक्क परें ।

जुन आस्था र विश्वास साथीले ममाथि राखेको थियो, अब त्यो मेरोमा नरहेको अनुभव गरें । त्यो गाउँको राकेश साथीलाई फेरि सोधें– ‘लाशहरू के गरे ?…भेट्टाए या भेट्टाएनन् ??… उसले भन्यो– ‘अहँ ठूलो भिरको पहिरोले थिचेको थियो। खोजेर पनि भेट्टाउने सम्भावना नै थिएन। कैयौं दिन कोशिष गर्दा पनि भेट्टाइएन ।’

उसित विदा लिएर हिंड़्दै मनमनै सोंच्न थालें– मिलनलाई कुन दशाग्रहले सताउन थाल्यो । घरी बुबालाई ब्लड् क्यान्सर । घरी यता जहान परिवारै नष्ट । गरीबको निधारमा जतै गए पनि ठोकर खानुपर्ने बाध्यता । मिलनले पनि पूर्वजन्ममा कुनै ठूलो पाप गरेको थिएछ कि के हो ???…मानसिक चोटले घायल बन्यो बिचरा !!!…..म सोंचनीय अवस्थामा पुगें ।

जे भयो भइहाल्यो !!!… आ–आफ्नो कर्मको फल, ‘दुखको साथी नै वास्तविक साथी हो’– भन्ने कर्तब्यमात्र अब मैले निभाउनु थियो । मैले उसलाई रेजिस्टर गरेर बेङ्गलोर पत्र पठाइदिएँ । त्यस पत्रमा लेखेको थिएँ– ‘मिलन तँ झट्टै घर आइज, यता आमा अन्तिम अवस्थामा हुनुहुन्छ !!!…पत्रको जवाफ कुरेर बसिरहें । पत्रको जवाफ केही आएन….आएन,…..। लगभग दुइ वर्ष बितिसकेर एकैचोटि मिलनलाई बजारको गल्लीमा ‘पागल’ भएको भेट्टाएँ ।
कुरा बुझ्दा बेङ्गलोरमा आफ्नो क्यान्सर पिड़ीत बुबाको उपचारको क्रममा देहान्त पछि अन्तिम संस्कार गरीवरी सिधै मिलन आफ्नो घर आम्बोटिया कमान गएछ । त्यहाँ जाँदा वरिपरिका छरछिमेकीहरूले सोझो घट्ना बताइदिए छन् र उसलाई मन मस्तिष्कमा मानसिक चोट परेकोले ऊ पागल बनि सकेछ ।

म उसलाई सँधै पागल देख्छु। माया लाग्छ साथी हो । अरूले पागल भन्छन्। म उसको नाम ‘मिलन’ हो भनी अरूलाई सुनाउँछु । तर अरूले ‘पागल’ भन्न नै रूचाउँछन् । म कति धेरै अभागी रहेछु । उसलाई दिन आँशु बाहेक केही जुट्दैन । उसँग बोल्न खोज्छु उसले वास्ता गर्दैन । मलाई चिन्दैन। उहिले मिलन र म स्कूल पढ़्दा लुकामारी खेलेको, लक्कु खेलेको, चोरपुलिस खेलेको, डिपगोली (म्यासकल) खेलेको, सँगै बसेर पढ़ेको याद आउँछ । त्यस समय उसको लक्ष्य कति धेरै महान थियो– ‘ठूलो मान्छे बनेर गरीब दुखी जनताको सेवा गर्छु भन्ने उदेश्य तर ती सबै सपनाहरू विपना भइदिएन । के गर्नु ??????….मायाले केही थेक्दैन रहेछ । ऊ आफ्नो संसारमा छ । उसलाई म जस्तो साथीको के वास्ता ???….के नै माया ???…

जे होस् ऊ अरूको लागि ‘पागल’ हो भने मेरो लागि त अझै ऊ ‘भगवान’ झै चोखो हृदय भएको साथी हो । ऊ मेरो लागि अझै हितमिल्दो नै छ । ऊ त्यसै पागल बनेन । मलाई पूर्णतया थाहा छ उसमा गहिरो दर्दनाक दूर्घट्नाको इतिहास लुकेको छ । मेरो मनभित्रको साथी। मेरो मिलन । आज यसरी गल्ली गल्लीमा ‘पागल’–को उपमामा बाँचिरहेको छ । वेवास्ता र बेसुरो आवाजमा नाँचिरहेको छ । शंख ध्वनी गर्दै कुनै लाश त्यो गल्लीको छेवैबाट लैजाँदा दगुर्दै गएर ति लाशको अनुहार हेरेर मुसुक्कै हाँसिरहेको छ । मेरो बाबा आमा बुढी र छोरीको बिहे लगेको भन्दै एक्लै खुशी मनाउँदै उफ्री रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार