१३ बैशाख २०८१, बिहीबार

विभिन्न कार्यक्रमसहित भानु जयन्ती मनाइयो



धनगढी । आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती आईतबार कैलालीमा विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
भानु जयन्तीका अवसरमा प्रभातफेरि, कविता तथा गलज प्रतियोगिता, स्रस्टा सम्मान, प्रवचन लगायतका कार्यक्रम भएका थिए ।
यस क्रममा कैलाली जनपुस्तकालयको आयोजनामा प्रभातफेरी, खुल्ला कविता, गजल प्रतियोगिता, पुरस्कार घोषणा, समर्पण तथा स्रष्टा सम्मान कार्यक्रम भएका थिए ।
सो अवसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली भाषाको उद्गम भूमि सुदूरपश्चिम भएकोले भाषा तथा संस्कृतिका दृष्टिले समृद्ध रहेको चर्चा गरे । मुख्यमन्त्री भट्टले आदिकवि भानुभक्तले नेपाली भाषाको एकीकरणमा पु¥याएको चिरकालसम्म स्मरणीय रहने बताए ।
कार्यक्रममा नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सभा सदस्य बाशुदेव पाण्डेयले आदिकवि भानुभक्त आचार्य बिनाको नेपाली साहित्य अधुरो रहने चर्चा गरे ।
समारोहमा वरिष्ठ शिक्षाविद जगदीशप्रसाद भट्टलाई कैलाली जनपुस्तकालयले पूर्णानन्द राष्ट्रिय शिक्षा सेवा पुरस्कारबाट सम्मानित गरेको छ ।
कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीले आदिकवि भानुभक्तको साहित्यक योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा संगीतकार पिके नारायण, संस्कृतिकर्मी सावित्री साहू र कवि खगराज भट्टलाई पनि सम्मानित गरिएको थियो ।
समारोहमा प्राज्ञ यज्ञराज उपाध्याय, साहित्यकार बासुदेव पाण्डेय, सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी, संगीतकार पिके नारायण, श्रेष्ठ प्रिया पत्थर, मनिराज जोशी, चेतराज पनेरू लगायतले आदिकवि भानुको व्यक्तित्व र कृतित्वको चर्चा गर्दे रचना वाचन गरेका थिए ।
यसअघि आईतबार बिहान कैलाली जनपुस्तकालयको आयोजनामा धनगढी चौराहाबाट पुस्तकालयसम्म बाजागाजा सहित प्रभातफेरी भएको थियो ।
भानु जयन्तीकै अवसरमा अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयमा कार्यक्रम आयोजना गरियो ।
कार्यक्रम पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान, कैलालीका अध्यक्ष पदमराज जोशीले उद्घाटन गरेका थिए ।
समारोहमा साहित्यकार उमाकान्त जोशी, प्रतिभा सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष कृष्ण पनेरु, शिक्षक कुमारप्रसाद निरौला, उमाकान्त रोस्यारा, सरस्वती माविका प्रधानाध्यापक विनोदकुमार भट्टराई लगायतले भानुभक्तको जीवनी तथा साहित्यबारे धारणा व्यक्त गरेका थिए ।
संस्थाका उपाध्यक्ष शान्तबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सचिव पदमबहादुर साउँदले सञ्चालन गरेका थिए ।
कैलाली विद्या निकेतनमा भानु जयन्ती
यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको कैलाली विद्या निकेतनमा भव्य ढंगले भानु जयन्ती मनाइयो ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल टोपेन्द्र शाहको अध्यक्षतामा भएको थियो । सो अवसरमा कविता प्रतियोगिता भएको थियो । कविता प्रतियोगितामा प्रगती पुजारा प्रथम, पूर्णिमा चौधरी द्वितीय र मीनराज गिरी तृतीय भएका थिए ।
कार्यक्रमको संचालन शिक्षिका नारायणी भट्टले गरेकी थिइन् भने शिक्षक विशाल चौधरीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार