१० श्रावण २०८१, बिहीबार

लोकमार्ग विधेयक पारित, सडक निर्माणका समस्या हट्ने



धनगढी । सुदूरपश्चिम प्रदेशको लोकमार्ग विधेयक २०७५ लाई प्रदेश सभाले पारित गरेको छ ।


प्रदेश सभाको बिहिबारको बैठकले सो विधेयक पारित गरेपछि सुदूरपश्चिमको सडकहरुको वर्गीकरण गर्ने बाटो खुलेको छ । सडक वर्गिकरण नहुँदा सुदूरपश्चिमका कुनै सडकमा तीनै तहका सरकारले बजेट हाल्ने र कुनै सडकमा एकअर्काको आसमा पर्दा बजेट नै नपर्ने समस्या यथावत रहेका छन् । विधेयकले पारित भएपछि सुदूरपश्चिमको सडक निर्माण सम्बन्धी समस्याहरु समाधान हुने प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले प्रतिक्रिया दिए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट पेश भएको सो वधेयक माथि दफावार छलफलपछि बुधबार प्रदेश सभामा अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले प्रतिवेदन पेश गरेको थियो ।
समितिको प्रतिवेदनमाथि छलफल गरी प्रदेश सभाले विधेयक पास गरेको हो । छलफलका क्रममा प्रदेश सांसदहरुले उठाएका प्रश्नहरुको भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले जवाफ दिए ।
मन्त्रीको जवाफपछि सभामुख अर्जुनबहादुर थापाले अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले मूल विधेयकमाथि गरेको संशोधनका बुदाँहरुलाई विधेयकको अङ्ग बनाउन भौतिक पूर्वाधार विकास मन्त्री बोहराको प्रस्ताावलाई निर्णयार्थ पेश गरे । सो प्रस्ताव पारित भई संशोधित बुँदा समेत विधेयकको अङ्ग बनेपछि समग्र विधेयक प्रदेश सभाको सर्वसम्मतिबाट पारित भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार