१० श्रावण २०८१, बिहीबार

कर्णालीमा र्याफ्टीङ ज्याम्बोरी



सोल्टा (कैलाली) । ‘कर्णाली र्याफ्टीङ ज्याम्बोरी शुरु भएको घोषणा गर्दछु’ कैलालीको मोहन्याल गाउँपालिका, सोल्टामा शनिबार कर्णाली नदीको किनारामा दर्जनौ डुंगा र सयौं जलयात्रीमाझ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घोष गरे– यो जलयात्रामा सहभागिताका लागि सबैमा आग्रह गर्दछु ।
कैलालीको मोहन्याल गाउँपालिकाको आयोजना तथा जिल्ला समन्वय समिति, कैलालीको संयोजनमा शनिबारदेखि कर्णाली नदीको सोल्टादेखि चिसापानीसम्म सञ्चालन भएको र्याफ्टीङ बृहत् महोत्सव (ज्याम्बोरी) को पहिलो दिन एकैसाथ करिब ६० वटा डुंगाबाट साढे पाँच सय बढी जलयात्रीले रमाउँदै जलयात्रा गरे ।सुदूरपश्चिम प्रदेशका भौतिक योजना मन्त्री पठानसिंह बोहरा, नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आले, सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता रणबहादुर रावल तथा सयौं अन्य सोल्टादेखि कर्णाली चिसापानीसम्मको २३ किलोमिटर जलयात्रामा सहभागी थिए ।
कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी तथा कर्णाली प्रदेशका सुर्खेत, सल्यान, बर्दिया र बाँके जिल्लाका जनप्रतिनिधि र उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, राजनीतिककर्मी, सञ्चारकर्मी, तथा सयौंको संख्यामा स्थानीय सहभागी बनेका जलयात्राको अवलोकन गर्न सोल्टादेखि कर्णाली चिसापानीसम्म ठाउँठाउँमा ठूलो संख्यामा दर्शकको घुइचो लागेको थियो । आयोजकले पहिलो दिन एक सय ११ वटा डुंगा एकैसाथ चल्ने भनिए पनि करिब ६० वटा मात्रै चलेका थिए । र्याफ्टीङ ज्याम्बोरी भोली (सोमबार) सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
केही वर्षदेखि र्याफ्टीङ सञ्चालन भइरहेको कर्णाली जलयात्राको निकै सम्भावना रहेको नदीका रुपमा विकास भइरहेको छ ।
यसअघि भएको कार्यक्रममा मुख्यमन्त्री भट्टले कर्णाली नदीमा जलयात्रासहित पर्यटनको प्रचुर सम्भावना भएकोले संघ, प्रदेश र स्थानीय सरकार तीनै तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताए । उनले भने– कर्णाली नदी आन्तरिक र बाह्य पर्यटन भित्राउने सबैभन्दा सम्भावना भएको गन्तव्य हो । यसको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक छ ।
उनले पृुरानो संरचना, मानसिकता र सोचले विकास सम्भव नभएको उल्लेख गरे ।कार्यक्रममा प्रदेशका सभामुख अर्जुनबहादुर थापा, प्रतिनिधि सभा सदस्य झपटबहादुर रावल, राष्ट्रिय सभा सदस्य कमला वली, प्रदेशका भौतिक योृजना तथा निर्माण भन्त्री पठानसिंह बोहरा, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रणबहादुर रावल, प्रदेश सभा सदस्य रतनबहादुर थापा, र जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावललको अध्यक्षतामा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार