१० श्रावण २०८१, बिहीबार

पर्यटनका तीन वटा ईकाई खुल्ने



धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले प्रदेशमा पर्यटनका तीन इकाई स्थापना गर्ने भएको छ । मातहतका संरचना नभएकाले बजेट कार्यान्वयनमा कठिनाई भएको भन्दै मन्त्रालयले नयाँ संरचना निर्माण गर्ने तयारी गरेको छ ।मन्त्रालयको पर्यटन शाखाका योजना अधिकृत भोजराज पाठकका अनुसार बैतडी, दार्चुला र डडेल्धुरालाई केन्द्रीत गरी बैतडीमा पर्यटन विकास कार्यक्रम ईकाई राख्ने तयारी गरेको छ । त्यस्तै, डोटी, अछाम, बझाङ र बाजुरालाई केन्द्रीत गरि डोटीमा तथा कैलाली र कञ्चनपुरलाई केन्द्रीत गरेर कैलालीमा पर्यटन विकास कार्यक्रम ईकाइ राख्ने तयारी अघि बढाएको छ ।
प्रदेशको पर्यटन मन्त्रालयले चालू आर्थिक वर्षका लागि चार सय बढी पर्यटनका योजनामा बजेट विनियोजन गरेको छ । ती योजना कार्यान्वयनका लागि मन्त्रालयले योजना प्रत्येक ईकाइमा दुई जना सब–इन्जिनियर रहने गरि छ जना सबइन्जीनियर र दुई जना सिभिल इन्जीनियरको दरबन्दी कायम गरी करारमा नियुक्त समेत गरिसकेको जनाएको छ ।
मन्त्रीपरिषदको गत पुस २६ गतेको बैठकले प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन कार्यविधि अनुमोदन गरेकोे थियो । योजना अधिकृत पाठकले भने– मन्त्रालयले पर्यटन शिर्षकमा विनियोजन गरेको बजेट कार्यान्वयन गर्न आवश्यक तयारी भइसकेको छ, इन्जीनियरहरू आईतबारदेखि फिल्डमा जानेछन् ।
मन्त्रालयले चालू आर्थिक वर्षका लागि पर्यटन शिर्षकमा २३ करोड ८२ लाख र संघीय सरकारको चार करोड ५१ लाख रुपैया सशर्त अनुदान समेत २८ करोड ३३ लाख रुपैया विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार