१० श्रावण २०८१, बिहीबार

सहकारी दिवस मनाईयो ।



डोटी । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ आज ६२ औँ राष्ट्रिय सहकारी दिवस डोटीमा पनि मनाईएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ८ लडागडामा रहेको लक्ष्मी महिला बहु–उदेश्यीय सरकारी संस्था लिमिटेडले बृहत अन्तरक्रिया कार्यक्रम मार्फत सहकारी दिवस मनाएको छ ।विक्रम संवत २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष नेपालमा राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय मानिन्छ ।
अन्तरक्रिया कार्यक्रममा सहकारी मार्फत महिला शसक्तीकरणका साथै आयस्तर कमजोर भएका ब्यक्तिहरुको आर्थिक स्थितीमा समेत सुधार आएको दिपायल सिलगढी नगरपालिका वडा नं. ८का अध्यक्ष रामबहादुर खड्काले बताउनु भएको छ । सहकारी दिवसका प्रमुख अतिथी समेत रहेको खड्काले सरकारीमा महिलाको नेतृत्व गर्ने क्षमता समेत बिकास भएको बताए ।
सबैका लागी एक र एकका लागी सबै भन्ने मुल मन्त्रका साथ सहकारी स्थापना भएका कारण बिपन्न नागरिकको साथी भनेको सहकारी भएको सामुदायिक बिकास मञ्च नेपाल डोटीका सहकारी बिकास अधिकृत कृष्णराज जोशीले बताए ।
सयौँ महिलाको उपस्थितीमा सहकारी दिवसको कार्यक्रम संचालन गरिएको थियो । अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३७ हजार सहकारी संस्था दर्ता छन् ।
व्यवस्थित, मर्या्दित र सुरक्षित बनाउन नसक्दा दर्ता भएकामध्ये झण्डै २० प्रतिशत सहकारी संस्था निष्क्रिय छन् । सहकारी क्षेत्रका समस्या दिगो रुपमा समाधान गर्न सरकारले सहकारी ऐन ल्याउन लागेको छ । सरकारी संचालनका क्रममा केही बाधा आएको भएपनी अब थप सुधार गरेर लैजाने महिला शेयर सदस्यले प्रतिबद्धता गरेका छन ।
६ सय ३७ जना महिला शेयर सदस्य आबद्ध रहेको उक्त सहकारी संस्थाको ५८ लाख पुजिँ जम्मा परेको सहकारीका अध्यक्ष टंका कडायतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार