१० श्रावण २०८१, बिहीबार

अनियमिताको आरोप लागेपछि अध्यक्षद्वारा राजिनामा



धनगढी । गलत ढंगले रुख काट्न लगाएको आरोप लागेपछि कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ स्थित सालघारी सामुदायिक वनका अध्यक्ष हिक्मत शाहले पदबाट राजिनामा दिएका छन् । शुक्रबार सालघारी सामुदायिक वनले बोलाएको आमभेलामा अध्यक्ष शाहले पदबाट राजिनामा दिए ।
आम भेलामा अध्यक्ष शाहले सामुदायिक वनका पदाधिकारीलाई जानकारी नदिएर विद्युत लाइन विस्तारका लागि गलत ढंगले रुख काट्न लगाएको आरोप लागेपछि उनले भेलामा राजिनाको घोषणा गरे । भेलाले सामुदायिक वनका अनुगमन समिति संयोजक पदम भण्डारीलाई पदबाट हटाएको छ ।
अध्यक्ष शाहमाथि सो सामुदायिक वनमा विद्युत लाइन विस्तार गर्ने क्रममा चार वटा सालका र तीन वटा सल्लाका रुख काटेको आरोप लागेको थियो । भेलाले अध्यक्ष शाहलाई एक लाख ७४ हजार रुपैयाँ बिगो समेत असुल गर्ने निर्णय गरेको जनाइएको छ ।
सो सामुदायिक वनमा अवैध रुपमा रुख काटिएको जानकारी पाएपछि इलाका वन कार्यालय सहजपुरको टोली गएर जा“चबुझ गरेको फरेष्टर पदमराज ओझाले जानकारी दिए ।
इलाका वन कार्यालय सहजपुरका अनुसार सो सामुदायिक बनमा एक सय ७३ क्वीफिट साल र आठ क्वीफिट सल्ला काटिएको पाइएको छ ।
सालघारी सामुदायिक वन भएर डोटीको वीपिनगर क्षेत्रमा विद्युतीकरण भईरहेको छ । विद्युतीकरणका लागि रुख बाधक बनेपछि विद्युत कार्यालयले सामुदायिक वनलाई रुखका हाँगाविगा काटेर सहयोग गरिदिन पत्राचार गरेको थियो ।
आमभेलामा चुरे गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर शाहले केही सञ्चार माध्यमले सामुदायिक वनसंग आफूलाई जोडेर भ्रामक समाचार प्रकाशन गरिएकोमा आपत्ति जनाए । उनले भने– म कामको शिलशिलामा काठमाडौं गएका बेला मेरो नाम जोडेर चरित्रहत्या गर्ने काम भएको छ । ममाथि राजनीतिक प्रतिशोधका आधारमा चरित्रहत्याको प्रयास भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार