१० श्रावण २०८१, बिहीबार

धानको भुसा लग्न अवरोध गरिएकोमा खाद्यान्न व्यवसायीहरूद्वारा आपत्ति



टीकापुर ।  ट्राफिक प्रहरीले धानको भुसा जिल्लाबाहिर लैजान अवरोध गरेपछि खाद्यान्न उद्योगी÷व्यवसायीहरुले तीब्र आपत्ति व्यक्त गरेका छन् । खाद्यान्न उद्योगी, व्यवसायीहरुले भुसा निकासीमा लगाइएको अवरोध नहटाइए कडा ढंगले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
मिल व्यवसायी समितिले शुक्रबार टीकापुरमा पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरीले अनाहकमा धानको भुस्सा निर्यातमा रोक लगाएको आरोप लगाए । मिल व्यवसायी समितिका अध्यक्ष सुरतबहादुर रावलले भने– चिसापानीस्थित ट्राफिक प्रहरी पोष्टले ट्रकको डालाभन्दा माथिसम्म भुस्सा राखेको भन्दै पा“च महिनादेखि लग्न दिइरहेको छैन । डालाभन्दा माथिसम्म अन्य सामान बोकेका ट्रकलाई जान दिए पनि भुस्सा बोकेका ट्रकलाई पूर्वतर्फ जान दिइएको छैन । उनले कोइला व्यापारीसंगको मिलेमतोमा ट्राफिक प्रहरीले धानको भुस्सा बाहिर निकासीमा अवरोध गरिरहेको आरोप लगाए ।
मिल व्यवसायीहरुले स्थानीय कोइला उत्पादन गर्ने उद्योगीले जिल्ला बाहिर भुस्सा निकासीमा रोक लगाएर सस्तो मूल्यमा भुस्सा खरिद गर्ने षडयन्त्र गरेको दाबी गरे । अध्यक्ष रावलले भने– जिल्ला बाहिर प्रति ट्रक धानको भुस्सा ४५ हजार रुपैयामा बिक्री हुने गरे पनि स्थानीय कोइला उद्योगले भने २० हजार रुपैयामा बेच्न दवाव दिने गरेका छन् ।
जिल्ला बाहिर भुस्सा निकासीमा अवरोध गरिएपछि हाल मिल सञ्चालकले भु्स्सा बिक्री बन्द गरेका छन् । भुस्सा बिक्री बन्द गरिएका कारण व्यवस्थापन गर्न निकै कठिनाई भइरहेको भट्टराई राइस मिलका सञ्चालक नवराज भट्टराईले बताए ।
लम्कीमा कोइला उत्पादन गर्ने उद्योग सञ्चालन हुनुअघिसम्म निर्वाध रुपमा भुस्सा निकासी भइरहेको व्यवसायीहरुले बताए । खाद्यान्न उद्योगीहरुका अनुसार पांच महिना अघिसम्म टीकापुर लगायतका क्षेत्रबाट भैरहवा, पोखरा, काठमाडौं लगायतका स्थानमा भुस्सा निकासी भइरहेको थियो । धानको भुस्सा कागज, चाउचाउ, दाना, सिमेन्ट लगायतका उद्योगमा प्रयोग हुने गर्दछ । कैलालीका क्षेत्र नम्बर १, २ र ३ मा करिब दुई सय ५० सानाठूला चामल उद्योग सञ्चालनमा रहेको समितिले जनाएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका प्रहरी उपरिक्षक केदार रजौरेले मिल व्यवसायीहरुको आरोप निराधार भएको बताए । उनले ट्राफिक आवागमनमा समस्या हुने भएकाले यस्ता सामान बोकेका सवारी साधन रोक्ने गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार